२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चयन भएका छन्। माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई पर्यटन समितिको संयोजकको जिम्मेवारी दिएको हो । यस जिम्मेवारीसँगै उनले दक्षिण एसियाली क्षेत्रमा पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र अन्तरदेशीय लगानी विस्तारका विषयमा क्षेत्रीय स्तरमा काम गर्ने अवसर पाएका छन् ।

सार्क चेम्बरले दिएको जिम्मेवारीपछि ढकालले दक्षिण एसियालाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । उनका अनुसार यस क्षेत्रको भौगोलिक विविधता, प्राकृतिक सम्पदा र सांस्कृतिक विशेषता पर्यटनका प्रमुख आधार हुन् ।

सर्वोच्च शिखर सगरमाथासहितका हिमशृङ्खला, हिन्द महासागरका टापु, समुद्री तट, जंगल, मरुभूमि तथा धार्मिक र ऐतिहासिक सम्पदाले दक्षिण एसियालाई पर्यटनका लागि विशिष्ट क्षेत्र बनाएको उनको भनाइ छ । विश्वको करिब एक चौथाइ जनसंख्या बसोबास गर्ने दक्षिण एसिया आफैँमा ठूलो आन्तरिक पर्यटन बजारसमेत भएकाले त्यसको सम्भावना उपयोग गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।

ढकालले सार्क राष्ट्रहरूबीच पर्यटन पूर्वाधारमा लगानी बढाउन र स्थापित होटल तथा आतिथ्य ब्रान्डलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । अन्तरदेशीय लगानीले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानमा पनि सहयोग पुग्ने उनको धारणा छ ।

नेपालको पर्यटन क्षेत्रमा सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल चेनलाई आकर्षित गर्न सकिने उल्लेख गर्दै उनले नेपाली आतिथ्य क्षेत्रको अनुभवलाई क्षेत्रीय बजारसँग जोड्नुपर्ने बताएका छन् । यसका लागि पर्यटन पूर्वाधारमा लगानी विस्तार र नीतिगत सहजीकरण आवश्यक रहेको उनको भनाइ छ ।

क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् । विभिन्न देशका पर्यटकीय गन्तव्यलाई समेटेर साझा पर्यटन सर्किट र प्याकेज बनाउन सके धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनमा पर्यटकको आवागमन बढाउन सकिने उनको विश्वास छ ।

ढकालले पर्यटन विकासका लागि हवाई तथा स्थलमार्गको सम्पर्क सञ्जाल विस्तारलाई पनि प्राथमिकतामा राखेका छन् । सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्न सके पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमन सहज हुने उनले बताएका छन् । नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सार्कका प्रमुख पर्यटकीय गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्नुपर्ने उनको सुझाव छ ।

यी लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको ढकालले बताएका छन् । नीतिगत समन्वय र व्यावसायिक साझेदारी विस्तारमा सार्क चेम्बरजस्ता क्षेत्रीय संस्थाले समन्वयकारी भूमिका खेल्न सक्ने उनको भनाइ छ ।

ढकाल आइएमई समूहका अध्यक्षसमेत हुन् । चन्द्रागिरि हिल्सलगायत पर्यटन पूर्वाधारमा लगानी गरेका उनी नेपालमा होटल तथा आतिथ्य व्यवसायको प्रवर्द्धनमा पनि संलग्न छन् । उनले नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकास र स्वदेशी ‘इला’ होटल चेन ब्रान्डको प्रवर्द्धनमा लगानी गरेका छन् । सार्क चेम्बरको पर्यटन समिति संयोजकका रूपमा दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : November 17, 2026 at 5:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/