१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

निजगढ विमानस्थलबारे ह्रदयेश त्रिपाठीले भने, ‘विरोध कसैको छैन, प्रश्न प्रबृत्तिको हो’ (भिडियो)

४ असोज, काठमाडाैँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबन्दै रुख कटानको तयारी गरिएको भन्दै सांसदहरुले अापत्ति जनाएका छन । प्रतिनिधिसभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै स्वतन्त्र सांसद ह्रदयेश त्रिपाठीले विमानस्थल बन्ने कुरामा कसैको बिरोध नभएपनि बन्ने ग्यारेन्टी हुनुपर्ने बताए ।

उनले डिपीआर नबन्दै रुख कटानको हतारो नगर्न सरकारको ध्यानाकर्षण समेत गराए । उनले भने ‘निजगढ विमानस्थलको विषयमा यसको विरोध मा कोही छैन, प्रश्न प्रबृत्ति र कामगर्ने शैलीको हो । डिपीआर तयार भएको छैन, लागत कति लाग्ने भन्ने तय भएको छैन, लगानीको स्रोत गर्भमै छ । खालि हतार के मा भएको छ भने अर्बौंको रुख कटानी गर्नेमा छ’ त्रिपाठीले संसदमा भने, ‘रुख भन्ने वित्तिकै नेपाली कांग्रेसले आफ्नो चुनाव चिह्न नठान्नु होला, साँच्चिकै रुख हो, वनको रुख । डिपीआर नबनी रुख कटानी गर्ने कुरामा हाम्रो आपत्ति छ ।’

हेर्नुहोस् भिडियो

 

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार १३:४५