१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

चीन भ्रमण सफल भएको नेकपा अध्यक्ष प्रचण्डको दाबी

४ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन ।

चारदिने चीन भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भ्रमणका क्रममा नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयका पक्षमा विभिन्न कोणबाट छलफल भएको बताए ।

दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्न त्यहाँको नेतृत्व वर्गसँग आफूले गम्भीररुपमा छलफल गरेको बताउँदै अध्यक्ष प्रचण्डले आफ्नो चीन भ्रमण सफल भएको दाबी गरे । अध्यक्ष दाहालले भने, “दुई वटा सरकारकाबीच भएका पछिल्ला सहमति र समझदारी समयबद्ध ढङ्गबाट कार्यान्वयनका निम्ति वातावरण बनाउने मुख्य उद्देश्यमा सफलता मिलेको छ ।”

भ्रमणका क्रममा आफूले चीनका उपराष्ट्रपतिसँग छुट्टै र सामूहिक रुपमा छलफल गरेको जानकारी दिँदै अध्यक्ष दाहालले विदेश विभागका उपमन्त्री, अन्तर्राष्ट्रिय विभागका मन्त्रीसँग दुई पार्टी र सरकारको सम्बन्ध विस्तार गर्ने विषयमा सौहार्दपूर्ण तवरले विचार विमर्श भएको बताए ।

अध्यक्ष प्रचण्डले पछिल्लो समयमा दुवै देशमा सकारात्मक वातावरण रहेको विषयमा चिनियाँ नेता र हाम्रो बीचमा समान समझदारी देखिएको बताउँदै भने, “दुवै देशका पार्टीले विकास र समृद्धिलाई मुख्य कार्यसूची बनाएको र राजनीतिक नेतृत्व तथा स्थिरता दुवै देशमा कायम हुँदै गएको भन्ने विषयमा समान समझदारी बनेको छ ।” अध्यक्ष दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका सचिवालय सदस्य बामदेव गौतम, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङ, अग्नि सापकोटालगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार ०७:२३