२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

पहिलो चौमासिकमा आयकर र भ्याट सङ्कलन लक्ष्यभन्दा कम

११ मंसिर, काठमाडाैं । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार सङ्कलन भएको देखिएको हो ।

विभागका अनुसार आयकर पहिलो चौमासिक लक्ष्यको ८१ दशमलव नौ प्रतिशत बराबर सङ्कलन भएको छ । कात्तिक मसान्तसम्ममा रु ४८ अर्ब ९१ करोड सात लाख ५८ हजार आयकर सङ्कलन गर्ने सरकारी लक्ष्य छ । यो अवधिसम्मको वास्तविक आयकर सङ्कलन भने रु ३८ अर्ब २९ करोड ६६ लाख ५३ हजार रहेको छ ।

गत आव २०७८/७९ को पहिलो चौमासिकमा रु ४७ अर्ब २२ करोड ९० लाख ९६ हजार आयकर सङ्कलन भएको थियो । पहिलो चौमासिकमा भ्याट असूली पनि लक्ष्यभन्दा न्यून छ । कात्तिक मसान्तसम्ममा रु ४१ अर्ब ९४ करोड ७६ लाख ६० हजार भ्याट सङ्कलन गर्ने सरकारी लक्ष्य रहेकामा रु ३४ अर्ब ४७ करोड ८४ लाख १९ हजार बराबर मात्रै असुली भएको हो ।

त्यो पहिलो चौमासिक लक्ष्यको ८२ दशमलव १९ प्रतिशत बराबर हो । यो अवधिमा अन्तःशुल्कतर्फको राजस्व लक्ष्य भने भेटिएको छ । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु ३० अर्ब ६५ करोड ३८ लाख चार हजार अन्तःशुल्क सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु ३४ अर्ब ६० करोड ७२ लाख ४२ हजार असूली भएको हो ।

सो असूली पहिलो चौमासिक लक्ष्यको एक सय १२ दशमलव ९२ प्रतिशत बराबर हो । त्यस्तै घरबहाल कर लक्ष्यको ६९ दशमलव ७४ प्रतिशत बराबर मात्रै उठेको छ । कात्तिक मसान्तसम्ममा रु एक अर्ब ६९ करोड १३ लाख घरबहाल कर उठाउने विभागको लक्ष्य छ । यो अवधिमा रु ६४ करोड ४२ लाख तीन हजार बराबर मात्रै उठेको हो ।

शिक्षा सेवा कर पनि लक्ष्यभन्दा न्यून छ । यो अवधिसम्ममा रु ५३ करोड २३ लाख ५२ हजार शिक्षा कर उठाउने लक्ष्य रहेकामा रु ५० करोड ८६ लाख ९५ हजार मात्रै उठेको छ । स्वास्थ्य सेवा कर भने लक्ष्यभन्दा बढी उठेको छ । पहिलो चौमासिकमा रु एक अर्ब ३६ करोड ११ लाख २० हजार बराबर स्वास्थ्य सेवा कर उठाउने लक्ष्य रहेकामा एक सय ८३ दशमलव १५ प्रतिशत अर्थात् रु दुई अर्ब ४९ करोड २९ लाख १६ हजार असूली भएको छ ।

प्रकाशित मिति : November 27, 2022 at 1:49 pm