१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

बीमा कम्पनीको संस्थापक सेयर कारोबारको स्वीकृति लिन प्रहरी रिपोर्ट अनिवार्य

८ मंसिर, काठमाडाैँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको संस्थापक सेयर कारोबारको सम्बन्धमा स्वीकृति माग गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन पेस गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई कम गर्न नयाँ निर्देशन जारी गरेको हो । प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनु पर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा  क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनीकरण गर्न ६ बुँदे  निर्देशन दिएको छ।

एक प्रतिशत भन्दा बढीको संस्थापक सेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृत माग गर्दा खरीदकर्ताको प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ।

बीमालेखमा हिताग्राही/ मनोनित उल्लेख गर्दा निजको पहिचान सम्बन्धी कागजात (नागरिक्ता वा सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात) अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ।

बीमालेखमा हिताग्राही/मनोनित उल्लेख गर्दा सो व्यक्ति उच्च राजनैतिक व्यक्ति भए नभएको एकिन गर्नुपर्ने प्राधिकरणले भनेको छ।  २५ लाख भन्दा बढी बीमांक कायम गरी जारी हुने जीवन बीमालेखमा इच्छयाईएको  व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिनुपर्ने प्राधिकरणको निर्देशनमा छ।

बीमाका संचालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि ‘फिट एण्ड प्रपर टेष्ट’ गर्दा निजको अपराधिक पूष्ठभूमि बारे जानकारी लिन प्रहरी प्रतिवेदन  रिपोट अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ।

 त्यस्तै ,बीमकका कर्मचारी तथा बीमा अभिकर्ताका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम, अभिमुखीकरण संख्या बढाउनु पर्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : November 24, 2022 at 9:06 am