जनस्वास्थ्य विधेयक संसदबाट पारित, विदेशमा उपचार गर्नेले राज्यस्रोतमा लुट मच्चाउन नसक्ने
२९ भदाै, काठमाडाैँ । जनस्वास्थ्य विधेयक शुक्रबार प्रतिनिधिसभाबाट पारित भएको छ। यस एेनले सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्था गरेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट आएको प्रतिवेदनलाई प्रतिनिधिसभाले पारित गरेको हो। उक्त विधेयक राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ।
विधेयकमा प्रचलित कानुनमा जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्दा सरकारले खर्च नबेहोर्ने प्रावधान राखिएको छ। सरकारले वर्तमान तथा पूर्वविशिष्ट पदाधिकारीलाई सरकारी कोषबाट विदेशमा उपचार गर्न आर्थिक सहयोग गर्दै आएको थियो। तर अब यो व्यवस्थापछि कोही पनि व्यक्तिलाई राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्न सरकारले खर्च दिन सक्नेछैन ।
जनस्वास्थ्य विधेयकमा नेकपाका संसद खगराज अधिकारीले स्वदेशमा उपचार नगरी आफूखुसी विदेशमा उपचार गराउने कुनै पनि व्यक्ति, वर्तमान तथा पूर्व विशिष्ट लगायतलाई कुनै पनि निकायबाट सरकारले उपचार खर्च वा आर्थिक सहायता उपलव्ध गराउने छैन भन्ने संशोधन दर्ता गरेका थिए।
प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार १७:३७