७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

राष्ट्रियसभाका अध्यक्षको दसैँको शुभकामना सन्देश

१६ असाेज, काठमाडाैं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वडादसैँ २०७९ को शुभ अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालीको महान पर्व वडादसैँ २०७९ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति कामना गरेका छन् ।

“वडादसैँ २०७९ ले हामी सबैमा नयाँ जोश, जाँगर र उत्साह, उमङ्गसहित सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा प्रदान गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्नेछ”, सन्देशमा भनिएको छ, “साथै, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियान सफल बनाउन र आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने विश्वास राख्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

हाम्रो मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण छ । संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रुपमा उल्लेख गरेको छ । जसले गर्दा सामाजिक–सांस्कृतिक चाडपर्व, मूल्यमान्यता तथा प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अङ्गका रुपमा रहेको सन्देशमा छ ।

सन्देशमा भनिएको छ, “विभिन्न क्षेत्र तथा समुदायमा रहेको सांस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवद्र्धन गर्न सकियो भने हाम्रा संस्कृति राज्यका अमूल्य सम्पत्तिका रूपमा रहनेछन् । यसले प्रत्येक व्यक्ति तथा समुदायको पहिचान सुनिश्चित गरी राज्यप्रति आम नागरिकको अपनत्व विकास गर्न सहयोग मिल्नेछ, जसको फलस्वरुप सङ्घीयता मजबुत बनाउनसमेत महत्वपूर्ण योगदान पुग्दछ ।”

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म दुर्गा भवानीको पूजाआराधना गरी दशौँ दिन टीकाजमरा ग्रहण गरी पूर्णिमाका दिनसम्म मान्यजनको हातबाट आशीर्वाद लिइ मनाइने हिन्दू धर्मावलम्बीको महान चाड दसैँलाई पारिवारिक जमघटको विशेष अवसरका रुपमा लिइने गरिन्छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता कायम गर्न साथै सामाजिक–सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्न दसैँको विशेष महत्व रहेको छ ।

प्रकाशित मिति : October 2, 2022 at 3:58 pm