२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

किसुनजीलाई चुनाव हराउने योजना गिरिजाप्रसादले बालुवाटारमै बनाएका थिए


-किरण देउजा 

राजनीतिमा विपक्षीसँग भन्दा आफ्नैसँग जोगिन कठिन देखिने गरेको छ । नेपाली राजनीतिमा फरक फरक पार्टीका भन्दा पनि एउटै पार्टीका नेताहरूको बीचमा गम्भीर खालका षडयन्त्र हुने गरेको बेलाबेलामा सुन्ने गरेका छौँ । कतिपयले भोगेकै पनि छन । त्यही भएर पछिल्लो समय नेपालको प्रमुख पार्टी नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूले सार्वजनिक रूपमै आफ्नो पार्टीलाई बाहिरबाट भन्दा भित्रबाटै असुरक्षा हुनेगरेको बताउँदै आएका छन । २०५० सालको चुनावमा नेपाली कांग्रेसका जिम्मेवार नेताले नेपाली कांग्रेसकै जिम्मेवार नेतालाई कसरी चुनाव पराजित गराए भन्ने कुरा छर्लङ्ग हुनेगरी वरिष्ठ पत्रकार एवं लेखक देवप्रकाश त्रिपाठीले लेखेको पुस्तक तुषानलमा उद्घाटन गरिएको छ । हुनत् यस विषयमा तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउनका लागि प्रयोग गरेका एक पात्र तत्कालीन समयका कोइारालाका विश्वासपत्र उमेश गिरीले सार्वजनिक रूपमै त्यसलाई स्वीकार गर्दै आएका छन । त्रिपाठीको केही अघि सार्वजनिक भएको पुस्तकमा उल्लेख भएको उक्त घटना विवरण यहाँ प्रस्तुत गरेको छु ।

तुषानलको सुरुवात नै किसुनजीको पराजयमा गिरिजाप्रसादको भूमिकाबाट सुरु गरिएको छ । तुषानलका अनुसार “पार्टीभित्र असमझदारी, धोकाधडी र कपटपुर्ण क्रियाकलापका लागि मात्र होईन नातावादका कारण समेत आफ्नो पृथक पहिचान बनाउन सफल गिरिजाबाबु पार्टी भित्रै निर्दलीयता भित्र्याउन पनि सफल हुनुभएको हो” ।

वि सं २०५० मा काठमाडौं क्षेत्र नं १ भएको संसदीय उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई पराजित गर्न गिरिजाबाबुले गर्नुभएको क्रियाकलापहरूलाई लेखकले यसरी वर्णन गर्छन्, ‘२०५० सालको मंसिरमा नेपाली काङ्ग्रेस केन्द्रीय बैठक बस्यो । उक्त बैठकले नेकपा एमालेको तत्कालीन महासचिव मदनकुमार भण्डारीको देहवासन पछि रिक्त हुन आएको काठमाडौ क्षेत्र न १ को उपनिर्वाचनमा कृष्ण प्रसाद भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गर्यो।’

त्यसको भोलिपल्टै प्रधानमन्त्री निवास बालुवाटारामा भेला भएका कार्यकर्ताहरुलाई गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो ‘मैले किसुनजीलाई नलड्न भनेर पटक-पटक भनेको हुँ, तर उहाँले मान्नुभएन, लड्छु भन्दाभन्दै उहाँ कतै बल्ड्याङ्ग नलडून । त्यो कुरा सुनेर सबै हाँसे ।’

किसुनजीको उम्मेदवारी निर्णयसंगै बालुवाटारमा ठूलै हलचल पैदा गरेको थियो । प्रम निवासमा जसरि पनि किसुनजीलाई हराउने निर्णय गरियो । जोसंग जे सम्झौता गरेर भए पनि किसुनजीलाई हराउने । किसुनजीको उम्मेदवारीले आफ्नो कुर्सी धरमराएको देखेर गिरिजाले सकेको हकर्त गर्नुभयो ।

पुस्तकमा त्यतिखेर किसुनजीलाइ हराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरूको नाम यसरी उल्लखे गरिएको छ ।
-गिरिजाप्रसाद कोइराला (प्रमुख योजनाकार )
-सुशिल कोइराला
-उमेश गिरी
-शिवध्वज बस्नेत
-पुरुषोतम बस्नेत
-अम्बिका बस्नेत
-किरण उपाध्याय
-मार्सलजुलुम शाक्य ,
-उपेन्द्र कुमार भट्टराई आदि ।

गोप्य बैठक बस्ने स्थानः उपेन्द्रकुमार भट्टराईको घर, ललितपुर ।

किसुनजीलाइ निर्वाचन हराउने योजना अघि बढेपछि तत्कालीन गृहमन्त्री शेर बहादुर देउवालाई सामेल गराउने प्रयत्न गरेका थिए । गिरिजाबाबुको इच्छा अनुसार विभिन्न व्यक्तिहरु सो प्रस्ताव लिएर गएका थिए । तर देउवाले यस्तो जवाफ दिएछन् “मेरो लागि किसुनजी, गिरिजाबाबु, गणेशमान सबै बराबर नेता हुन् । म कसैकोविरुद्ध जान्न, किसुनजीलाई हराउन लाग्नुभन्दा त बरु राजनीतिबाट सन्यास लिएर डडेलधुरामा गाई पालेर बस्छु।”

देउवाले पटका-पटक यस्तो वचनले कोइरालाहरू निरास भएनन् बरु क्रुद्ध भए । कोइरालाले गृहमन्त्रीलाई बाइपास गरेर प्रहरी परिचालन आफैँ गर्न थाले । एमालेले दिवंगत महासचिव मदन भण्डारीको जीवन संगिनी विद्या भण्डारीलाई उम्मेदवार बनाएको थियो । किसुनजीलाई पराजित गर्नको लागि विद्यालाई सहयोग गर्न जरुरत थियो, जसका लागि एमाले र कांग्रेसको बीचमा समन्वय गर्ने व्यक्तिको खोजी भयो । काङ्ग्रेसबाट मार्सलजुलुम शाक्य र एमालेबाट प्रदिप नेपाल । साथमा दुबैका १/१ जना सहयोगीहरु समेत थिए । यी दुइथरिको बैठक प्रायः ललितपुर स्थित उपेन्द्रकुमार भट्टराईको घरमा रातिको समयमा हुन्थ्यो । उपेन्द्रकुमार भट्टराई किसुनजीबाट असन्तुष्ट रहेको थाहा पाएपछि गिरिजाप्रसाद कोइरालाले किसुनजीविरुद्द नै प्रयोग गरेका थिए । जो किसुनजी कै क्यापमा थिए ।

त्यतिखेर नेकपा एमालेले दिएका सुझावका केही बुँदाहरु यस्ता थिए

-राखेपको सदस्य सचिव राजबहादुर सिंह लाई हटाउनुपर्ने

-तिनको स्थानमा कोइराला निकट ल्यानुपर्ने

-किसुनजीको चुनाबी प्रचार अभियानका कार्यक्रमहरुलाई सरकारी सञ्चार माध्यामहरुमा स्थान नदिने

-दिनै परे पनि किसुनजीको भन्दा विद्याको भण्डारीको राम्ररी प्रस्तुत गरिदिने

-प्रहरीलाई उक्त कार्यमा सहयोह गर्न लाउने

-गृहमन्त्रीको असहयोग हुने भएपछी प्रम आफैले पुलिस परिचालन गर्ने

-निर्वाचन क्षेत्रमा विकास निर्माणका जे(जति काम हुन्छन् त्यो एमालेको माग बमोजिम गरिदिने

-किसुनजीले जेजे आश्वसन दिन्छन् त्यसलाई सरकारले कार्वान्यन नगरिदिने

माथिका सुझावहरू मध्ये १२ वटा सुझावलाई तत्कालै कार्यान्वयनमा ल्याइएको थियो ।

निर्वाचनको दिन नजिकिदो थियो, सो क्षेत्रमा एमालेले भने बमोजिम विकास निर्माणको काम द्रुत गतिमा भैरहेको थियो । कहाँ के गर्ने भन्ने योजना प्रदिप नेपालकहाँ पठाइन्थ्यो । चुनाबी क्षेत्रमा बाहुबलीहरु खटाउने, विपरित प्रचारका लागि कार्यकर्ता खटाउने र बुथमा बस्ने किसुनजीका एजेण्टहरुलाई खरिद गर्ने जस्ता कामको कमाण्ड चै उमेश गिरीलाई दिएर्को थियो । उच्च चुनाबी रणनीति तर्जुमा यस पुस्तकका लेखक देवप्रकाश त्रिपाठी र मार्सलजुलुम शाक्यलाई दिइएको थियो ।

किसुनजी निर्वाचनमा हराउने अभियानमा गिरिजाप्रसादले अर्काे महत्वपुर्ण भूमिका स्पष्ट रुपमै दिनुभयो । अर्थात २०५० माघ १८ गते सरकारी संचार माध्यमको दुरुपयोग गरी रेडियो नेपालमार्फत किसुनजी विरोधी वक्तव्य दिनुभयो । जुन वक्तव्यले तीब्र चर्चापरिचर्चा, व्यापकता पाएको थियो ।

माघ २२ गते सुशील कोइरालाको निर्देशनमा चाकुपाट स्थित उपेन्द्रकुमार भट्टराईको घरमा प्रमका प्रतिनिधि र एमाले प्रतिनिधिबीच बैठक बस्यो । उक्त बैठकमा एमाले नेता प्रदिप नेपालले निर्वाचनमा भट्टराई समूहले क्याप्चर गर्ने सक्ने बुथको बारेमा मसिनो ढंगले प्रस्तुत गर्नुभयो । उक्त ठाँउमा एमालेलाई सहज बनाउनु पर्ने धारणा राख्नुभयो ।

नेता नेपालले त्यतिखेर कब्जा हुनसक्ने भनेर उल्लेख गरेका बुथहरू यस्ता थिए

-कमल नेत्र (खोटाङ कोल्ड स्टोर अगाडी) को बुथ

-श्रीपति गार्मेन्ट अगाडिको चौरमा राखिएको बुथ

-सभाभवन अगाडीको बुथ

-सानो गैचरण बुथ

-स्रङ्चङ विद्यालय बौद्धको बुथ

-डाँछी-थलीको बुथ

-इन्द्रायणी विद्यालयमा राखिएको बुथ

-नाङ्लेभारे को प्रताप माविमा बुथ

बुथहरूमा प्रहरीले कडा सुरक्षा दिनुपर्ने प्रस्ताव नेपालकाे थियो । जहाँ कांग्रेसले कुनै अनियमितता नगरोस भन्ने भनाइ नेपालको थियो । ती बुथहरुमा एमालेका कयाैँ स्वयम्सेवक र लडाकुहरुलाई पनि कांग्रेसको बिल्ला पहिर्याएर खटाउने र उनीहरुले एमालेका मतदाताहरुसलाई दोहोर्र्याई,तेहर्र्याई मतदानको व्यबस्था गराउने काम गर्ने निधो भैसकेको जानकारी समेत नेता नेपालले त्यँहा दिनुभयो । त्यस्तै शहरी क्षेत्रका बुथहरु मध्य मित्रपार्क बुथ र मित्र मावि बुथमा सूर्य चिह्नमा बढि मतदान हुने सम्भावना थियो । उक्त बुथमा १ः०० बजे भित्र एमालेले आफ्नो मत खासाइसक्ने र १ः०० बजेपछि हुलदंगा मच्चाउने त्यसमा प्रहरीले नदेखे झैँ गरिदिने ।

१ः०० बजे भित्र एमालेले आफ्नो पक्षमा जाने मत लिइसके पछि कांग्रेसमा जाने मतलाई नियन्त्रणमा गर्नको लागि उक्त योजना बनाएको थियो । कांग्रेसका सौखिन मतदाताहरु मतदान नगरी घर फर्किउन भन्ने एमालेको योजना थियो । नेता नेपालको योजना जस्ताको त्यस्तै कार्यान्वन भयो ।

खानेपानी संस्थान अगाडिको बुथ र मुरारी भवन टेनिसकोर्ट अगाडीको बुथमा भरत शमशेरले क्याप्चर गर्ने भनी हाल्ला चलेको हुँदा त्यहा पनि विशेष निगरानी हुनुपर्ने नेता नेपालको प्रस्ताब थियो, सोहि बमोजिमा निर्णय र कार्यान्वन भयो ।

एउटा महत्वपूर्ण सूचना एमालेले पाएको रहेछ । तत्कालिन वडा नं १० मा लक्ष्मीको पसल नजिकै हातहतियार राखिएको छ, निर्वाचनको दिन प्रयोग गरिदैछ भन्ने सुराकी एमालेले पाएको रहेछ । त्यसलाई कडा निगरानी गराउने निर्णय भयो । बानेश्वर थापा गाँउमा हेम थापा र शम्भु पोखरेलको घरमा किसुनजीको गुण्डाहरु राखिएका छन, त्यसको सत्यतथ्य विकास कार्की मार्फत बुझ्ने निर्णय भयो ।

सरकारका तर्फबाट एउटा पर्यवेक्षण टोली गठन भयो । जसमा किसुनजीका विरोधीहरू मात्र राखिएको थियो । उक्त टोलीले वडा न ७, ९ र ३५ मा किसुनजीलाई हराउन मद्दत पुर्याउने काङ्गेस कार्यकर्ताहरुसँग एमालेको खास कार्यकर्ताहरुसँग निरन्तर सम्पर्क गराउने निर्णय भयो । उक्त दिन (माघ २२) सम्म अच्युत खरेल (तत्कालिन एआईजी) को भूमिका किसुनजीको पक्षमा भएको हुँदा उनको भूमिकालाई निष्क्रिय तुल्याई अन्य केही प्रहरी अधिकृतहरुलाई उक्त क्षेत्रमा खटाउनुपर्ने प्रदिप नेपालले प्रस्ताव गर्नुभयो बैठकले नेता नेपालले भने बमोजिम गर्ने निर्णय गर्यो ।

किसुनजी हराउन बनाएका योजना सबै कार्वान्यन भयो फलतः किसुनजी हार्नुभयो, विद्या भण्डारीले निर्वाचन जित्नुभयो । यति द्रुत गतिमा काम भएको लेखकले पहिलोपटक देखेका रहेछन । त्यसपछि त्रिपाठी सरकारले चाहँदा यति छिटो काम हुँदो रहेछ भनेर छक्क परेछन ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार ०७:३४