१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

पृथ्वीनारायण शाहको सैन्य समूहले एकैरातमा निर्माण गरेको ऐतिहासिक बेलकोटगढी

-किशोर ओली

ऐतिहासिक बेलकोटगढीको इतिहास लामो छ । नुवाकोट जिल्लाको ऐतिहासिक, रणनीतिक एवं सामरिक महत्त्व बोकेका स्थलहरुमध्येको एक हो बेलकोटगढी । बेलकोटगढी नुवाकोट जिल्लाको साविकको बेलकोट गाविस हाल बेलकोटगढी नगरपालिकाको वडा नम्बर १० मा अवस्थित ऐतिहासिक महत्त्वको स्थान हो ।

समुन्द्री सतहबाट करिब दुईहजार दुईसय मिटरको उचाईमा रहेको बेलकोटगढीलाई रणनीतिक एवं सामरीक दृष्टिकोणबाट समेत महत्त्वपूर्ण मानिन्छ । तत्कालीन बडामहाराजधिराज पृथ्वीनारायण शाहले बाइसे चौविसे राज्य एकीकरणको सिलसिलामा विक्रम सम्बत १८०१ मा नुवाकोट आक्रमण पश्चात तत्कालीन राजा जयन्त राना बेल्कोट आइ शासन गरेको र युद्दको क्रममा यस गढीको निर्माण गरेको इतिहासमा उल्लेख छ ।

गढीको पर्खाल पृथ्वीनारायण शाह र उनका सैन्य समूहले एक रातमा नै निर्माण गरेको र गढीमा प्रयोग गरेको ढुंगा गढीबाट करिव एक किलोमिटर तल ढुङेखानी तथा आसपासका क्षेत्रहरूबाट ल्याइएको स्थानियहरूले बताउने गरेका छन् । स्थानीय अनुभवि पुस्ताका अनुसार “बेलुका सुत्दा केहिपनि नरहेको उक्त स्थानमा विहान मान्छे ब्युजिँदा दरवार बनिसकेको थियो” ।

बेलकोटमा अवस्थित बेलकोटगढीलाई चारैतिर ढुङ्गाको पर्खाल लगाएर माथिल्लो भागको मध्यभागमा श्री निरञ्जना भगवती मन्दिर स्थापना गरिएको छ । बेलकोटगढी नुवाकोटको सदरमुकाम विदुरदेखि ३ कोष दक्षिणतर्फ करिव ३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

जिल्लाकै चर्चित ऐतिहासिक स्थल बेलकोटगढी पर्यटकीय क्षेत्रको दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ । यसै कारण यस क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा समेत विकसित गर्न तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको कार्यकालमा बेलकोटगढी र चिम्टेश्वरको विकासका लागि ३ करोड ७५ लाख रूपैयाँ बजेट स्वीकृत गरिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०७:०७