१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सबै पालिकामा एकएकवटा संयुक्त प्रचार सभा गराैँः अध्यक्ष तिमल्सिना

१० असोज, काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा पर्वतका सबै पालिकामा कम्तीमा एउटा संयुक्त प्रचारसभा गर्न आग्रह गर्नुभएको छ ।

राजनैतिक दलका उम्मेदवारले सामूहिकरूपमा आफ्ना एजेन्डा राखेर मत माग्ने वातावरण बनाउन पर्वतका सातवटा स्थानीय तहमा एकएकवटा संयुक्त आमसभा आयोजना गर्न आग्रह गर्नुभएको हो ।

पर्वतको फलेवास नगरपालिका–११ श्रीकाङमा निर्माण भएको चिसापानी कालिका भगवती मन्दिरको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले संयुक्त सभा गरेर नमूना प्रचार गर्नेबारेमा स्थानीय राजनैतिक दलका प्रमुखहरु पनि सहमत रहेको बताउनुभयो ।

उहाँले दसँै, तिहार र छठको अवसरमा केही दिनअघि गृहजिल्ला पर्वतमा शुभकामना आदनप्रदान कार्यक्रममार्फत पर्वतको विकास र समृद्धिका लागि साझा एजन्डा तय गर्ने प्रयास गर्नुभएको थियो । उहाँले सोही कार्यक्रममा उम्मेदवारहरुले एउटा पालिकामा एउटा सभा आयोजना गर्ने र त्यसको आयोजना नै स्थानीय सरकारले गर्नेबारेमा सहमति नजिक पुगेको बताउनुभयो ।

“हरेक स्थानीय तहले नै संयुक्त आमसभा आयोजना गरौँ र त्यहाँ प्रमुख दलका सबै उम्मेदवारले एकै मञ्चबाट मत मागौँ, यसले निर्वाचन प्रचारलाई मर्यादित बनाउँछ”, उहाँले भन्नुभयो, “आमसभा संयुक्तरूपमा गरौँ, टोलटोलमा पुगेर मत माग्न आफ्नो आफ्नो तरिकाले जाऔँ ।” एउटै मञ्चबाट भाषण गर्दा मतदाताले जसको एजेन्डालाई मन पराउँछन् उसैलाई मत दिने वातावरण बन्ने उहाँको भनाइ थियो ।

अध्यक्ष तिमिल्सिनाले आगामी निर्वाचनमा उम्मेदवारको पैसा खाएर मत नदिन पनि आग्रह गर्नुभयो । कसैले मतदान केन्द्र कब्जा गरेर मत लाने प्रयास नगर्न पनि आग्रह गर्दै मौन अवधिमा पाइप, रक्सी, पैसा बोकेर मत किन्ने वातावरण नबनाउन सबैलाई आह्वान गर्नुभयो ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष तिमिल्सिनाले कालीगण्डकी करिडोर निर्माणको काम सकिएपछि पर्वतको उत्तरदेखि दक्षिण क्षेत्रका आर्थिक, सामाजिक क्षेत्रमा ठूलो परिर्वतन आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सडकको पहुँच पुगेसँगै स्थानीयस्तरमा कृषि उत्पादन बढाएर निर्यात प्रवद्र्धन गर्ने काममा लाग्न आग्रह पनि गर्नुभयो ।

पर्वतको ऐतिहासिक धार्मिकस्थल चिसापानीगढीमा रहेको मन्दिर जीर्ण भई भत्केको अवस्थामा श्रीकाङमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, फलेवास नगरपालिका तथा स्थानीय चन्दादाताको सहयोगमा पुनर्निर्माण भएको हो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार २३:१०