१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यकः गृहमन्त्री खाण

१० असोज,रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन् । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए । “संविधानप्रति प्रतिबद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन हुँदैन”, उनले भने ।

गृहमन्त्री खाणले कुनै पनि नागरिक नागरकिताबाट बञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार गरेको उल्लेख गरे । लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद् भएको चर्चा गर्दै उहाँले संविधान मान्नुपर्ने अधिकारीबाटै यसको उल्लङ्घन हुनु गलत भएको बताए । “नागरिकता नहुँदा एउटा सिमकार्ड किन्नसमेत समस्या सिर्जना भएको छ । यस्तो कथा नेपालका लाखौँ नागरिकको छ यसको जिम्मेवार को हुने ?”, उनले प्रश्न गरे ।

मन र मस्तिष्क जोडेर काम गर्नसके मानवीय विकास सम्भव रहेको चर्चा गर्दै उनले सरकार र सरकारका नेतृत्वकर्ताको सही मूल्याङ्कनसमेत गर्न आग्रह गरे । आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले सङ्घीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गरे । आगामी दिनमा सरकारले यसलाई चिर्न सक्नुपर्ने उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव चन्द्रप्रकाश खनालले राजनीतिलाई सहीदिशा दिने काम मिडियाको भएकाले त्यसमा राम्रो भूमिका खेल्न सञ्चारकर्मीलाई आग्रह गरे । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले सुशासन आफैँमा राम्रो शब्द भए पनि विश्लेषकले सुशासनको अवस्था राम्रो नभएको औँल्याएको बताए ।

राष्ट्रिय समाचार समितिका पूर्वध्यक्ष बालकृष्ण चापागाईंले सञ्चारमाध्यमले सरकार र सरकारको नेतृत्वमा रहेका व्यक्तिले गरेका कामको खोजमूलक समाचार लेख्न आग्रह गरे । रिपोर्टस् क्लब नेपालका अध्यक्ष ऋषि धमलाले गणतन्त्र र सङ्घीयतालाई अघि बढाउन क्लबले मिसन पत्रकारिता गरेको बताउँनुभयो । प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीले सबैको साझा मञ्चका रुपमा क्लबलाई उभ्याउने कोशिस गरिहरहेको बताए ।

कार्यक्रममा रुपन्देहीका पत्रकार रामप्रसाद आचार्य, रेखा भुसाल र दाङका पत्रकार विजय घिमिरे तथा पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १५:४७