नागरिकता विधेयकमा राष्ट्रपतिले गरेको भुल पश्चाताप गरेर पनि सुधार्न सक्नु हुन्नः नेता गौतम
९ असोज, नेपालगञ्ज । ‘नेकपा एकता राष्ट्रिय अभियान’ का संयोजक बामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठुलो भुल गरेको बताए । नेपालगन्जमा आईतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रिय सभाका सदस्य नेता गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरिएको उक्त भूललाई राष्ट्रपतिले जीवनभरी पश्चाताप गरेर पनि सुधार्न नसक्ने बताए ।
‘सर्बोच्च अदातले कारण देखाउ आदेश दियो, राष्ट्रपतिसँग कारण देखाउ आदेश सर्वोच्च अदालतले माग्नुको अर्थ राष्ट्रपतिको शिर झुक्नु हो । र झुक्यो पनि । जसले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, तिनीहरुले राष्ट्रपतिलाई अपमान गर्न र समाप्त गर्नका निम्ति भुमिका खेलेका छन्,’ उनले भने । आफूलाई समाप्त गर्न लागेको कुरा राष्ट्रपतिले ख्याल नै गर्नु भएन । उनले थपे, ‘राष्ट्रपतिले त्यो गर्नै नहुने सोच्नु भयो र गर्नुपर्ने काम गर्नु भएन, आफ्नो कर्तब्य निर्वाह गर्नु भएन ।’

पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता गौतमले नागरिकता विधेयकमा राष्ट्रपतिले परम कर्तब्य निर्वाह गर्न नसकेको आरोप लगाए ।‘परम कर्तब्य भनेको त्यो भन्दामाथी अर्को छैन, उहाँले आफै सोचनुपर्छ, उहाँबाट यस्तो भुल भएको छ, जुन भुल त्यो कुर्सीमा बसेको ब्यक्तिले कहिल्यै गर्नु हुन्नथ्यो तर उहाँबाट त्यो भूल भईसक्यो ।’ उनले थपे,‘त्यस्तो भुल भइसकेपछि जे गर्नुपर्छ, राष्ट्रपतिले नै गर्नुपर्छ, म उहाँलाई भन्दिन कि तपाईँले यही गर्नुस् भनेर किनकी उहाँलाई थाहा छ कहाँ के गर्नु पर्छ र कसरी आफ्नो भूललाई सुधार्नु पर्छ भन्ने कुरा । यदि उहाँले गर्नु हुन्न भने अझ धेरै भुल गर्दै जानु हुन्छ ।’

एक पटक फर्काएको विधेयक सदनले फेरी राष्ट्रपति समक्ष प्रमाणिकरण गर्न पठाइसकेपछि प्रमाणिकरण गर्नुभन्दा अर्को विकल्प नभएको गौतमले बताए । उनले भने,‘ राष्ट्रपतिले सोच्न पनि सक्नु हुन्न, उहाँले आफ्नो विवेक प्रयोग गर्न पनि पाउनु हुन्न, उहाँले छाप लगाउनै पर्छ, त्यो छाप उहाँको जीवनको सबभन्दा माथिल्लो स्तरको कर्तब्यको पालना हो ।’ राष्ट्रपतिको कुर्सीमा बसेको ब्यक्तीले आफ्नो कर्तब्य निर्वाह गर्नुपर्नेमा त्यस्तो ठाउँमा राष्ट्रपति चुकेको गौतमको ठहर छ ।
प्रकाशित मिति : September 25, 2022 at 8:54 pm









