खोटाङमा मतदाता घटे
३ असाेज, खाेटाङ। खोटाङमा स्थानीय तहको निर्वाचनको तुलनामा आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदाता सङ्ख्या नौ सय ६० घटेको छ । गत वैशाख–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेको जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एक लाख ४२ हजार सात सय ९२ मतदाताले मात्र मतदान गर्न पाउने भएका छन् ।
आसन्न निर्वाचनमा पुरुष ७४ हजार सात सय २७ र महिला ६७ हजार आठ सय ६५ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । गत असार–१ गतेदेखि साउन–१९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानमा एक हजार दुई सय ७५ नयाँ मतदाता थप हुँदा पनि मतदात सङ्ख्या घटेको हो ।
मृत्यु भएका, बसाइँ सरेका र दोहोरो नाम भएका मतदाताको लगत कटाइएका कारण स्थानीय तहको निर्वाचनमा कायम रहेको मतदाता सङ्ख्या घटेको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए। करिब सात सय मतदाता बसाइँ सरेको, चार सयको हाराहारीमा मृत्यु भइसकेका र एक हजारको हाराहारीमा दोहोरो नाम भएका मतदाताको नाम हटाइएको कार्यालयले जनाएको छ ।
एकजना प्रतिनिधिसभा र दुईजना प्रदेशसभा सांसदको लागि मतदान हुने खोटाङमा एक सय ३६ मतदानस्थल र एक सय ९४ मतदान केन्द्र रहेका छन् । जिल्लाका विभिन्न पालिकाबाट चारवटा मतदानस्थल थप गर्ने प्रस्ताव आए पनि प्राविधिक कारणले नयाँ मतदानस्थल थप गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच, आगामी निर्वाचनका लागि आफूलाई टिकट दिन माग गर्दै जिल्लाका नेता राजधानी काठमाडौँ पुगेका छन् । जिल्ला पार्टी समितिको बैठकबाट आ–आफ्नो नाम लेखाएर सिफारिस गराएका नेताहरु अहिले टिकटका लागि काठमाडौँ स्थित केन्द्रीय नेताहरुको घरदैलोमा धाउनेक्रम जारी छ ।
दश स्थानीय तह रहेको जिल्लामा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दल र नेकपा (एमाले) एक्लैबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) चुनावी तालमेलको गृहकार्यमा देखिएका छन् ।
प्रकाशित मिति : September 19, 2022 at 5:53 pm









