१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

किस्पाङ गुम्बाबाट अबैध रूपमा भारत पुर्याइएका नुवाकोट र रसुवाका १६ बालकको उद्धार

१ असोज, नुवाकोट । नुवाकोटको किस्पाङ गुम्बाबाट अवैधरुपमा भारत पु¥याइएका १६ बालकलाई नेपाल फर्काएर शुक्रबार अभिभावकको जिम्मा लगाइएको छ ।

गत भदौ ७ गते नेपालबाट अवैधरुपमा भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एशोसिएशन नामक गुम्बामा लामा अध्ययन गराउन भनेर लैजाने क्रममा उत्तर प्रदेशको बस्ती भन्ने स्थानबाट गत भदौ ८ गते उद्धार गरिएका ती बालकलाई नुवाकोट ल्याइएको थियो ।

नुवाकोट घर भएका दश र रसुवा घर भएका पाँच बालकलाई नुवाकोट जिल्ला प्रहरी कार्यालयको रोहवरमा उद्धार गरेर ल्याउने संस्था शान्ति पुनः स्थापनागृहले अभिभावकलाई बुझाएको छ ।

कैलाली घर भएका एक बालकको अभिभावक ललितपुर बस्ने भएकाले सोही स्थानमा नै लगेर जिम्मा लगाइएको शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उनका अनुसार तीनसाता अघि भारतमा उद्धार गरिएका ती बालकलाई नेपाल प्रहरी र भारतीय राजदूतावासको सहयोगमा कर्नाटकबाट नेपाल फर्काइएको थियो ।

सामाजिक संस्थासँगको सहकार्यमा उद्धार गरिएका बालकको अभिभावकलाई बोलाएर घर पठाइएको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार गुम्बामा लामा अध्ययन गराउने भनेर लैजान लागेका बालक अलपत्र परेको खबर प्राप्त भएपछि उनीहरुलाई लैजाने किस्पाङ गुम्बाका प्रतिनिधि र अभिभावकबाट विवरण लिएर बालकलाई सामाजिक संस्थामार्फत उद्धार गरी घर फर्काइको हो ।

“गुम्बामा प्राथमिकतहदेखि पिएचडीसम्मको लामा अध्ययनका लागि भनेर अवैधरुपमा लैजान लागेको जानकारी पाएलगत्तै उद्धार गर्न केन्द्रित भयौँ ।” प्रहरी प्रमुख पण्डितले भने, “उनीहरुलाई लैजान कानुनी प्रक्रिया पूरा नगरेको तथा लैजाने उद्देश्य खुल्न नसकेकाले मानव बेचबिखन तथा ओसारपसारलगायत अपराधसमेत आकर्षित हुनेसक्ने हुँदा सोही बमोजिम अनुसन्धान अघि बढाइने छ ।”

मानव बेचबिखन तथा ओसारपसार अभियोगको हदम्याद नहुने भएकाले बालकलाई पठाउने अभिभावक, विभिन्न स्थानबाट सङ्कलन गरेर लैजाने किस्पाङ गुम्बा र सम्लग्न व्यक्तिको सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरुलाई लैजान नुवाकोट र रसुवाका वडा कार्यालयले क्षेत्राधिकारभन्दा बाहिर हुने गरेर सिफारिस गरेको पत्रसमेत पाइएको छ भने यसअघि पनि भारतको गुम्बामा किस्पाङ गुम्बाबाट ठूलो सङ्ख्यामा बालक लामा अध्ययनको लागि भनेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १०:०५