माधव नेपालको गुनासाेः बिचरा बुढो भइसक्यो, टिकटका लागि नाममात्र भए पनि टाँसीपाउँ भन्छ
२९ भदाै, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनका लागि टिकट व्यवस्थापनमा कठिनाई भएको बताएका छन् ।
बुधबार काठमाडौंमा समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै नेपालले निर्वाचन नजिकिँदै गर्दा टिकट माग्न आउनेको संख्या बढ्दै गएको र टिकट व्यवस्थापनमा कठिनाई भएको बताएका हुन् । उनले कतिपय अपेक्षा नगरेका व्यक्तिहरुले समेत टिकट माग गरेको जिकिर गरे । वृद्धावस्थामा पुगेका नेताहरुले पनि टिकट माग गरेको उनले बताए ।
उमेर पुगिसकेका व्यक्तिले पनि टिकटका लागि दबाब दिइरहेको उनको अभिव्यक्ति थियो । एक दुई कदम हिँड्नै नसक्ने व्यक्ति पनि टिकटका लागि दबाब दिइरहेको उल्लेख गर्दै उनले मर्ने बेला एक पटक त पाउँ भनेर दबाब दिइरहेकाे बताए ।
उनले भने, ‘उठेर दुई कदम हिँड्न सक्दैन बिचरा बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरू केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाउँ । के होला, कस्तो गाह्रो ?
अध्यक्ष नेपालले टिकट बितरणका लागि को काबिल छ वा छैन भन्ने छुट्टाउन पनि समस्या भइरहेको जिकिर गरे । त्यस्तै उनले सांसद पदबाट हटेपछि कुनै न कुनै व्यवसायमा जोडिन पनि नेताहरुलाई सुझाव दिए ।
अध्यक्ष नेपालले अहिले सहकारी क्षेत्रमा देखिएका समस्यालाई पनि समाधान गर्ने गरि मुलुकको हितमा काम गर्न समाजवादी सहकारी संगठनलाई सुझाव दिए ।
प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १७:४३












