१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

ढुवानी व्यवसायीलाई आन्दोलनका कार्यक्रम तत्काल रोक्न निर्देशन, नरोके कारबाही गर्ने निगमको चेतावनी

२९ भदाै, काठमाडाैं । नेपाल आयाल निगमले नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघलाई पेट्रोलियम पदार्थ ढुवानीमा कुनै अवरोध नगर्न निर्देशन दिएको छ । निगमले आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीलाई तत्काल आन्दोलनका सबै कार्यक्रम नरोके कारबाही गर्ने चेतावनी दिएको छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । निरन्तर पेट्रोलियम पदार्थ ढुवानी बन्द गरे निगमले कानुन अनुसार व्यवसायीलाई कारबाही गर्ने बताएको हो । व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा हवाई इन्धन अभाव भएको निगमले जनाएको छ ।

व्यवसायीहरुले २० प्रतिशतसम्म ढुवानी भाडा वृद्धिको माग गर्दै इन्धन ढुवानी बन्द गरेका हुन् । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई पूर्णरुपले ठप्प पार्ने गरी सार्वजनिक गरिएको अवरोधका कार्यक्रमहरू प्रति निगमको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

‘बन्द हड्तालका सम्बन्धमा मुलुकको विद्यमान कानूनी व्यवस्था समेतलाई ख्याल गर्दै त्यहाँबाट सार्वजनिक भई जारी रहेका आन्दोलन एवं अवरोधका सम्पूर्ण कार्यक्रमहरू आजैका मितिबाट फिर्ता लिनु भई पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक वस्तुको आयात, ढुवानी एवं बिक्री वितरण कार्यमा सदाझै सहयोग गर्नुहुन निगम हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १४:१३