२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

मुलुकको विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्छ : शिक्षामन्त्री


२८ भदाै, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको आर्थिक विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्ने बताएका छन् ।  गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले स्थापना गर्नुभएको रु एक करोड राशिको ‘भवन–कीर्तिरत्न’ सम्मान कार्यक्रममा उनले युवा वैज्ञानिकलाई अनुसन्धानमा प्रोत्साहन गर्नुपर्ने बताए । “उद्यमशीलता विकासका लागि अविष्कार केन्द्र खोल्नुपर्छ, अनुसन्धान केन्द्र खोलेमात्र उद्यमशीलताको विकास भई देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्छ”, उनले बताए । उनले सरकारले अनुसन्धानका लागि नाष्टको स्थापना गरे पनि उक्त संस्थाले आविष्कारको क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको गुनासो गरे ।

मन्त्री पौडेलले धेरै सुन्दर मुलुक नेपालमा पर्यटनमार्फत आर्थिक विकास गर्न सकिने बताए । “नेपालको प्रकृति र पर्यटनलाई कसैले किन्न सक्दैन, यस क्षेत्रको भरपुर प्रयोग गरी देशले लाभ लिनुपर्छ”, उनले भने । उनले नेपालमा लगानी भित्र्याउन एनआरएनएलाई आग्रहसमेत गरे।

ओशो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले विदेशमा कमाएको रकम नेपालमा लगानी गरेर भट्टले पुण्य काम गरेको बताए । “देशको आर्थिक विकासका लागि उद्यमशीलता आवश्यक छ”, उनले भने । स्वामी अरुणले आफूहरुले देशका ७७ वटै जिल्लामा योग र ध्यानको आविष्कार केन्द्र स्थापना गर्न लागेको जानकारी दिए ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धानबिना उद्यमी बन्न नसकिने बताए । अनुसन्धानको क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने उनको भनाइ थियो । “नेपालको अर्थतन्त्र सुधार्ने काम उद्यमीको हो, उद्यमी निर्माण गर्नका लागि अनुसन्धानको खाँचो छ, देशमा एउटा अनुसन्धानले मात्र पुग्दैन, धेरै अनुसन्धान केन्द्र खोल्नुपर्छ”, उनले भने ।

अध्यक्ष पुनले रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमा उद्यमी बनाई रोजगारी प्रदान गर्ने हेतुले आविष्कार केन्द्र स्थापना गरिएको बताए । “अनुसन्धान भनेको जटिल कुरा हो, अहिले हामीले प्राथमिक तहको अनुसन्धान गरिरहेका छौँ”, उनले भने ।

गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भट्टले सङ्घको १० औँ सम्मेलनमा घोषणा गरेअनुसार उक्त पुरस्कार वितरण गरिएको बताए । उनले समाज परिवर्तन गर्नका लागि अगाडि बढेका व्यक्ति तथा संस्थालाई ‘भवन–कीर्ति रत्न’ प्रदान गर्दै जाने उल्लेख गरे ।

राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड पुरस्कार

गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भट्टले स्थापना गर्नुभएको रु एक करोड राशिको ‘भवन–कीर्ति रत्न’ सम्मान राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरलाई प्रदान गरिएको छ । भट्टको जन्मदिनको अवसर पारेर आज पहिलोपटक प्रदान गरिएको उक्त सम्मान तथा पुरस्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई प्रदान गरिएको हो । कार्यक्रममा शिक्षामन्त्री पौडेलले प्रशंसापत्र र नगदसहित पुनलाई सम्मान गरेका थिए ।

प्र्रत्येक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार नेपालको विकास र नेपालको हितका लागि काम गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिने पुरस्कारका संस्थापक भट्टले जानकारी दिए ।

उक्त पुरस्कार नेपालमा प्रदान गरिँदै आएको पुरस्कारमध्ये सबैभन्दा ठूलो राशिको पुरस्कार भएको दाबी गरिएको छ । पुनले आविष्कार केन्द्रमार्फत देशमा वैज्ञानिक अनुसन्धान, सूचना, प्रविधि तथा समाजका अन्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १८:४७