२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्ने सपना देखेको छ : केपी ओली

२८ भदाै, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वच्छ र निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् ।

आज पोखरामा आयोजित नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन लोकतन्त्रमा विश्वास नगर्ने शक्ति भएको बताए । उनले चुनाव जित्नको लागि गठबन्धनले जस्तोसुकै हतकण्डा पनि मच्चाउने बताए ।

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री आलीले पाँच दलीय गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्ने सपना देखेको आरोप लगाए । उनले भने, ‘गठबन्धनले आगामी चुनाव मतपत्र च्यात्ने, चपाउने र धाँदली गर्ने योजना बनाएको छ । त्यतिमात्रै हाेइन गबन्धनले मान्छे कुट्ने, थुनाउने र बुथ कब्जा गर्ने काम गर्छ । त्यसैले यिनीहरूको मतपत्र च्यात्ने, चपाउने बानी परेको छ। त्यसैले म सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले भने, ‘भरतपुरमा पहिले त्यसै गरेका हुन्। त्यसैले हाम्रा साथीहरू मतदानको गणना नसकिएसम्म चनाखो बन्नु पर्छ। उनीहरूको षड्यन्त्रलाई एमालेका नेता कार्यकर्ताले विफल बनाउनु पर्छ। उनीहरूको कब्जा गर्ने योजनाको प्रतिरोध गर्नु पर्छ।’

नेपाली कांग्रेसले आफूले नगराएको निर्वाचनमा भाग नलिने प्रष्ट रूपमा भनेको स्मरण गराउँदै ओलीले कांग्रेस धाँधली गराउनकै लागि सत्तामा जाने उनले बताए । चुनाव गराउनकै लागि सत्तामा जानेर धाँधली गर्ने कांग्रेसको निरन्तर प्रक्रिया नै बनिसकेको उनले टिप्पणी गरे । निर्वाचन स्वतन्त्र, धाँधलीरहित, निष्पक्ष हुनुपर्नेमा उनले जोड दिए । सरकारको निर्देशनमा वा कुनै पनि किसिमले आउने निर्वाचनमा धाँधली गर्ने काम भयो भने त्यसलाई एमालेले रोक्नु पर्ने उनले बताए ।

यस पटकको चुनाव विगतको जस्तो सामान्य चुनाव नभएको ओलीले बताए । फेरी गठबन्धन सत्तामा पुग्यो भने एसपीपी जस्तो राष्ट्रघाती सम्झौता गर्ने उनको भनाइ छ । अहिले चुनावको बेलामा जनता भड्किन्छन् भनेर गठबन्धनले एसपीपी रोकेर राखेको उनले टिप्पणी गरे ।

प्रकाशित मिति : 16:17