२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

कङ्ग्रेसले नै देश विकास गर्छः महामन्त्री डा कोइराला

 

२३ भदौ,चितवन ।  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीको सपनाअनुसार पार्टीलाई अगाडि बढाउनका लागि गुटको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवनले आज  आयोजना गरेको एक सय पाँचौँ बिपी जयन्तीका अवसरमा शुभकामना आदानप्रदान एवं तीज कार्यक्रममा उहाँले भन्नुभयो, “काङ्ग्रेस अब एकजुट भएर अघि बढ्नुपर्छ ।”

महामन्त्री डा कोइरालाले काङ्ग्रेसलाई बलियो बनाउन र बिपीको विचारअनुसार सञ्चालन गर्नका लागि आन्तरिक गुटबन्दीको अन्त्य गरी सद्भाव राख्नुपर्ने बताउँदै पार्टीभित्र रहेकोे गुटबन्दी अन्त्यका लागि आफू तयार रहेको र यसमा कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

“गुटको अन्त्य गर्न म चाहन्छु तर कार्यकर्ताले साथ दिनुप¥यो, अहिले पार्टी कमजोर भएको होइन, गुटले पार्टीलाई कमजोर बनाएको हो,” उहाँले भन्नुभयो, “बिपी भन्नुहुन्थ्यो गुटबन्दीले पार्टीलाई असर गर्छ, अहिले त्यही रोग हामीमा लागेको छ ।”

महामन्त्री डा कोइरालाले बिपीले आफ्नो मृत्यु हुनुअघि ठूलो मानिस होइन, असल मानिस बन्नु भनेको कुरालाई स्मरण गर्दै अब असल मानिस बन्ने र बनाउने समय आएको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले देशको विकास गर्ने राजनीतिक दल भनेको काङ्ग्रेस नै रहेको चर्चा गर्दै कम्युनिष्ट सरकारहरु भ्रम छर्ने तर विकास गर्न नसक्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, काङ्ग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, महिला सङ्घ चितवनकी अध्यक्ष पार्वती शाह, प्रदेशसभा सदस्य गीता वाग्ले, महाधिवेशन प्रतिनिधि गीता गुरुङ्, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कल्पना पौडेललगायतले मुलुकको विकास र समृद्धिका लागि बिपीको विचार र चिन्तन आज पनि उतिकै सान्दर्भिक रहेको बताउनुभयो ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार २०:३४