२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

कांग्रेसले तोड्यो पाँच दलीय गठबन्धन ! देउवाले गृह जिल्लाबाट दिए सन्देश

१८ भदौ, कैलाली । नेपाली कांग्रेसले पाँच दलीय गठबन्धन तोडेको छ । माओवादी र समाजवादीले हैसियत भन्दा बढी सिटमा दाबी गरेपछि कांग्रेसले गठबन्धन तोड्ने कामको शिलशिलाको सुरूवात स्थानीय कमिटीबाट गराएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै गृह जिल्ला डडेलधुराबाट गठबन्धन तोडेको घोषणा गराएका छन । उनले मंसिर ४ मा हुने आगामी निर्वाचनमा डडेलधुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गराएका छन । साथै सोही बैठकले देउवा दम्पतीलाई एक जनालाई प्रत्यक्षतर्फ अर्कोलाई समानुपातिकमा उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

शुक्रबार बसेको डडेलधुराको कांग्रेस जिल्ला कार्य समितिको बैठकले चुनाव लड्न पार्टी एक्लै सक्षम रहेको भन्दै माओवादी र समाजवादीको झमेलामा नपर्ने बरू मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । देउवा भजनमण्डली बनेनको जिल्ला कार्यसमितिबाटै यस्तो निर्णय भएपछि केन्द्रमा हुने निर्णयमा समेत यसको असर पर्ने सम्भावना देखिएको छ ।

केन्द्रमा गठबन्धनका नाममा दिनहुँ देउवा बस्ने गरेको प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका लागि भन्दै बैठक बस्ने र आफ्नै गृहजिल्लाबाट गठबन्धन नगर्ने निर्णय गरेर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका केही र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका केही नेताबाहेकलाई कांग्रेसले सहयोग गर्न नसक्ने संकेत दिएका छन ।

कांग्रेसले स्थानीय चुनावको मोडल फलो गरे माओवादी र समाजवादी मधेशवादी दल भन्दा पनि सानो आकारमा खुम्चने सम्भावना छ । कांग्रेसले उनीहरूलाई एमालेसँग मिल्न नदिनका लागि यो रणनीति अपनाएको कांग्रेसकै नेताहरूले खुला रूपमै भन्दै आएका छन ।

कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतले  जिल्लामा स्थानीय तहको निर्वाचनमा गठबन्धन नगरेको भन्दै अब पनि एक्लै चुनाव लड्ने निर्णय भएको बताए । यसअघि डोटीमा पनि कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 09:51