परमादेशी गठबन्धन धरापमाः अध्यक्ष ओली
१८ भदाै, झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन धरापमा परेको र कुनै पनि बेला टुट्न सक्ने बताउनुभएको छ । गौरीगञ्जमा शुक्रबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनभित्र रोइकराई शुरु भइसकेको हुुँदा गठबन्धनको धागो कुनै पनि बेला चुडिनसक्ने बताउनुभयो ।
गठबन्धनलाई जनताले राम्रोसँग चिनिसकेको वताउँदै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीका कार्यकर्ताहरूलाई एकताबद्ध भएर निर्धक्क साथ निर्वाचनमा जुट्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘नेता–नेता गठबन्धनमा छन्, जनता एमालेमा छन्, जनताको पार्टी एमालेलाई कसैले हराउन सक्दैन ।’
जग बिनाको गठबन्धन धरापमा रहेको बताउँदै अध्यक्ष ओलीले अबको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने विश्वास व्यक्त गर्नुभयो । गठबन्धनमा रहेका माधव नेपाल दिनरात रोइकराई गर्दै हिडिरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘उब्रेको खान जाँदा जुठो खान्न भन्न पाइँदैन । माधव नेपाल अहिले जुठो खान्न भनिरहेका छन्, गठबन्धनमा काँंग्रेसले छोडेका सिट मात्रै अन्य दलले पाउने हो ।’
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा हुलाकी सडक, अन्य सडक सञ्जालहरु, पुल पुलेसा, शिक्षा, स्वास्थ्य क्षेत्रसहित विकास निर्माणका कयौं काम गरिएको चर्चा गर्दै गठबन्धन सरकार आएपछि विकास नै रोकिएको, एमाले सरकारमा हुँदा थालिएका सबै विकासका काम रोकिएका छन् भन्नुभयो ।
उहाँले मंसिर ४ को निर्वाचनपछि एमाले सरकार बन्छ र त्यसपछि रोकिएका सबै काम अघि बढ्ने छन् भन्नुभयो । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सूर्यमा मतदान गर्न आह्वान गर्दै अध्यक्ष ओलीले बेलैमा जनताको पार्टी रोज्न आग्रह गर्नुभयो ।
उहाँले राजनीतिसँगै एमाले आर्थिक क्रान्तिमा लागेको भन्दै सबै पार्टी सदस्य र शुभचिन्तकहरुलाई उत्पादनमा जोडिन आग्रह गर्नुभयो । गरिवी निवारणका लागि उत्पादन बढाउन आग्रह गर्दै अध्यक्ष ओलीले गौरीगञ्जमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा समेत गर्नुभयो । देश बनाउने अभियानमा एमाले क्रियाशील रहेको भन्दै उहाँले विकासका लागि चिन्ता नलिन आग्रह गर्नुभयो ।
प्रकाशित मिति : 09:18









