एमालेका ५२ हजार ५५० सदस्यहरूको नम्बर जुध्यो, यसरी हुँदैछ व्यवस्थापन
१७ भदाै, काठमाडाैँ । मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेकपा (एमाले) यतिखेर संगठन सुदृढिकरणमा केन्द्रीत भएको छ । करिब तीन वर्ष माओवादीसँगको एकताको नाममा अस्तव्यस्त बनेको पार्टीको संरचनाहरू र सदस्यताको व्यवस्थापन मिलाउन एमालेले केन्द्रीय कमिटीको चौथो बैठकबाट विशेष निर्णय गरेको छ ।
विगतम मृत्यु भएका र नविकरण नभएका नम्बरमा नयाँ व्यक्तिको सदस्यता हालिदिँदा एमालेलाई त्यसको व्यवस्थापनमा संकट परेको थियो । यद्यपी एमालेले पहिले सदस्यता लिएकाहरूको नम्बर उनीहरूलाई नै दिँदै पछि थपिएहरूका लागि विशेष नम्बरको व्यस्था गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अपानी ५ जारी गर्दै करिब ५२ हजार ५५० सदस्यहरूको नम्बर जुधेको जानकारी दिएका छन । उनले त्यसका लागि दोहोरिएका सदस्यहरूमध्ये सबैभन्दा पुरानो सदस्यको नम्बर कायम राखी बाँकी सदस्यहरूलाई विशेष नम्बर दिने र त्यस्तो विशेष नम्बर १४ लाख ३१ हजारबाट १५ लाखसम्मको क्लस्टरमा व्यवस्थित गरिने जानकारी दिएका छन ।
ओलीले अपानीमा भनेका छन, ‘दोहोरिएका सदस्यता नम्बरकोव्यवस्थापन अहिले संगठन विभागले सदस्यहरूको विवरण अध्यावधिक गरिरहेको छ । यसक्रममा करिब ५२ हजार ५५० सदस्यहरूको नम्बर दोहोरिएको भेटियो । यसलाई व्यवस्थित नगर्दा दोहोरिएका सदस्यहरूमध्ये सबैभन्दा पुरानो सदस्यको नम्बर कायम राखी बाँकी सदस्यहरूलाई विशेष नम्बर दिने र त्यस्तो विशेष नम्बर १४ लाख ३१ हजारबाट १५ लाखसम्मको क्लस्टरमा व्यवस्थित गरिने छ ।’
सदस्यता पुरानो देखाउने अन्यको नम्बर राखेर सदस्यता वितरण गरेको देखिएको हो । अहिले एमालेले नेकपा एमाले एप मार्फत सदस्यतालाई आधुनिक रूपमा व्यवस्थापन गरिरहेको छ । एमालेले सबै सदस्यलाई सोही एप मार्फत डिजिट कार्ड समेत वितरण गरिरहेको छ । एमालेले हरेक जिल्लामा एक जना सूचना प्रविधिमा जानकारी भएको विशेषज्ञ कर्मचारी राखेर सदस्यता अद्यावधिकको काम गरिरहेको छ । अहिलेकाे समस्या सुल्झिएपछि फेरि यस्तै समस्या नदोहोरिने एमालेले जनाएको छ ।
एमालेले अहिले अनलाइन माध्यमबाटै पार्टीको सदस्यता लिन सक्ने र नविकरण गर्न मिल्ने व्यवस्था सुरु गरेको छ । एमालेले एपलाइ प्रभावकारी बनाउन पार्टी कमिटीका प्रोफाइल तथा अन्तरपार्टी निर्देशन पनि एपमा नै राखेको छ ।
प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १६:२१












