१० जेष्ठ २०८१, बिहीबार | Fri May 24 2024

सेप्टेम्बर २ मा नेपाल सरकार र सद्गुरूविच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै


१४ भदाै, काठमाडाैं ।  विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ (SAVE SOIL) अभियान अन्तर्गत नेपाल सरकारसँग यहि भदौ १७ गते अर्थात सेप्टेम्बर २, मा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (Conscious Planet) बिच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो ।

माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नका लागि ईशा फाउण्डेशन नामको लाभ रहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनका लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नका लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।

माटोको विनाशको सङ्कटलाई सबैसामु छर्लङ्ग पार्नका लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा १०० दिने यात्रा शुरु गरेका थिए । यात्राको शुरुवातदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् । ६ क्यारिबियन राष्ट्रहरू, अजरबैजान, युएई लगायतका राष्ट्रहरूले माटो जोगाउन सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर समेत गरिसकेका छन् भने पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै कि आ.यू.सि.एन. (IUCN), संयुक्त राष्ट्रसङ्घका संस्थाहरू – यू.एन.सि.सि.डी. (UNCCD), डब्ल्यू.एफ.पी. (WFP) तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।

उक्त दिन साँझ ६ः३० बजेदेखि गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुन गईरहेको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर कार्यक्रममा सद्गुरुले तत्काल माटो जोगाउन किन आवश्यक छ भन्नेबारे सम्बोधन दिने कार्यक्रम समेत रहेको छ । नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयअन्तर्गतका मन्त्रीहरू तथा ५००० भन्दा बढी मानिसहरू उपस्थित हुने आयोजकको अपेक्षा रहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १६:३३