एसिया कप क्रिकेट: पाकिस्तानमाथि भारतको जित
१३ भदाै, काठमाडाैँ । एसिया कप २०२२ को बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि पाँच विकेटको रोमाञ्चक जित निकालेको छ । दुबईमा सम्पन्न खेलमा पाकिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्याे ।
भारतलाई अन्तिम ओभरमा जितका लागि सात रनको आवश्यकता थियो । जसमा हार्दिक पान्ड्याले चौथो बलमा छक्का प्रहार गर्दै भारतको जित सुनिश्चित गरे ।भारतका लागि रविन्द्र जडेजाले र विराट कोहलीले समान ३५ रन बनाए । हार्दिक पान्ड्याले ३३ रन बनाउँदा सुर्यकुमार यादवले १८ र कप्तान रोहित शर्माले १२ रन बनाए ।
पाकिस्तानले दोस्रो इनिङको तेस्रो बलमै सफलता पाएको थियो । भारतका ओपनर लोकेश राहुल गोल्डेन डक भएका थिए ।भारतले तेस्रो बलमा राहुललाई, ५० रनमा रोहितलाई, ५३ रनमा कोहलीलाई, ८९ मा सुर्यकुमारलाई र एक सय ४१ मा रविन्द्र जडेजलाई गुमाएको थियो ।
पाकिस्तानका मोहम्मद नवाजले तीन विकेट लिए । यस्तै नसिम साहले दुई विकेट हात पारे । यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रनको योगफल तयार गरेको थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाएका थिए । रिजवानले ४२ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । इफ्तिखर अहमेदल २८ रन बनाएका थिए । यसबाहेक, सहबाज दहनीले १६ रन जोड्दा कप्तान बाबर आजम र फकर जमामले समान १० रन जोडेका थिए । हरिस रौफले १३ रन बनाएका थिए ।
भारतका भुवनेश्वर कुमारले सर्वाधिक चार विकेट लिएका थिए । भुवनेश्वरले चार ओभरमा २६ रन खर्चिए । हार्दिक पन्ड्याले तीन विकेट लिएका थिए । यस्तै, अर्शदीप सिंहले दुई र अभेस खानले एक विकेट हात पारे ।
पाकिस्तानले स्कोरबोर्डमा १५ रन छँदा कप्तान आजमलाई गुमाएको थियो । ४२ रनमा फकर जमानलाई गुमाएको पाकिस्तानले ८७ रनमा इफ्तिखिर अहमेदलाई गुमाएको थियो । इफ्तिखर अहमेद र रिजवानले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए ।
यसपछि ९६ रनमा चौथो विकेटको रुपमा रिजवानलाई गुमाएको पाकिस्तानले ९७ रनमै खुसदील साहलाई पाँचौ विकेटको रुपमा गुमाएको थियो ।
स्कोरबोर्डमा एक सय १२ रन हुँदा आसिफ अलि आउट भए । एक सय १४ रनमा मोहम्मद नवाज आउट हुँदा एक सय २८ मा सादब खान र नसिम अलि एकै ओभरमा पभेलियन फर्किएका थिए । न्युजकारखाना
प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार ०८:४०