पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनैपनि चुनाव नलड्ने, नयाँ पुस्तालाई समर्थन गर्ने
१० साउन, काठमाडौं । चुनावमा टिकट हत्याउने रस्साकस्सी भइरहेका बेला एमाले नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले आफू अब कुनै पनि निर्वाचनमा प्रतिष्पर्धी नहुने घोषणा गरेका छन् । पौडेलले फेसबुकमार्फत आफूले चुनावी राजनीतिबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
उनलाई मकवानपुरको क्षेत्र नं १ बाट प्रतिनिधि सभामा उम्मेद्वार बनाउने विषयमा पार्टीमा छलफल भइरहेको एमाले स्रोतले जनाएको छ । तर चुनावी राजनीतिबाट अलग्एिको घोषणा गरेसँगै यो च्याप्टर सकिएको छ । पौडेलले समाजले पुरानाभन्दा नयाँ अनुहार खोजेकोले त्यो चाहनालाई अनदेखा गर्न नमिल्ने भन्दै निर्वाचनमा भाग नलिने घोषणा गरेको उल्लेख गरेका छन् ।
यस विषयमा पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा ९एमाले० लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेका छन् । यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरूलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ ।’
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आगामी निर्वाचनका सम्भावित उमेदवारहरूका बारेमा चर्चा परिचर्चा सुरू भएको अवस्थामा आफ्नो नाम जोडिएकोमा उनले राजनीति लहड, रहर र दबाब मात्रैले नचली आवश्यकताको वस्तुपरक मूल्यांकनले निर्धारण गरेका कडिहरूका आधारमा उमेद्वार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्ने बताएका छन् ।
‘मेरो ५० औं वर्षको राजनीतिक अनुभवले बताउँछ । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैन । त्यसैले आगामी निर्वाचनमा मेरो उमेद्वारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु ।
यो पटक जनचाहना अनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ । दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् । अबको मेरो जिम्मेवारी नेकपा ९एमाले० को उम्मेदवारहरूलाई विजयी गराउने हुनेछ ।’
यसअघि पौडेले मकवानपुरको क्षेत्र नंबर १ को ‘क’ बाट वागमती प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनले २०७४ साल माघ २९ गते वागमती प्रदेशको मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए ।
प्रकाशित मिति : 16:41









