१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

महेश बस्नेतलाई चुनावमा धुलो चटाउछाैँः सभापति थापा

१० भदाै, भक्तपुर । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले एमालेका सांस्द एवं युवा नेता महेश बस्नेतर्फ संकेत गर्दै सिंगल सिंगल भिड्छु् भन्नेहरुलाई धूलो चटाउने बताएका छन । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने “आज सिंगल सिंगल भिड्छु भन्नेहरुलाई यसअघि पनि धूलो चटाएकै हौँ, त्यसपछि माओवादीको बैशाखी टेकेर एक पटक जिते भन्दैमा घमण्ड नगरे हुन्छ, यस पटक धूलो चटाउँछौ ।”

आफूले माओवादी केन्द्रको बैशाखी टेकेर चुनाब जित्दा सुहाउँदो, पवित्र हुने र अरुले गठबन्धन गर्दा अपबित्र हुने भन्दै उनले आफूले अपवित्र गठबन्धन गर्दा गठबन्धन भत्किएको र पार्टी धुजा धुजा भएको टिप्पणी गरे ।

एमाले नेता बस्नेततर्फ संकेत गर्दै कांग्रेस सभापति थापाले भने, “भक्तपुरका नवयुवराजलाई पछार्न गठबन्धन आवश्यक छ, हिजो राजनीतिक व्यापारीहरुसँग कमाएको पैसा, सांसद अपहरणमा कमाएको पैसा बाडेर टिकट खरिद गर्ने र चुनाब जित्छु भनेर हल्ला चलाएका छन्, तिनले अब चुनाब जित्ने हैसियत राख्न सक्दैनन् ।”

उनले काठमाडौंका मेयर बालेन साहले अल्फा बिटाको अबैधानिक संरचना हटाएर निकै राम्रो गरेको र त्यसमा कांग्रेसको समर्थन रहेको बताए । उनले सांसद महेश बस्नेतले बालेनलाई गरेको गालीले त्यस्ता व्यापारीसँग साँठगाठ रहेको र लुटेको धन त्यस्ता व्यवसायमा लगानी गरेकाले बिरोध गरेको हुन सक्ने बताए ।

निर्वाचन नजिकिएसँगै गठबन्धन भित्रका दलहरुका नेताले उम्मेदवारी घोषणा गर्नु स्वभाविकै भएको बताउदै उनले त्यसले गठबन्धनमा कुनै असर नपार्ने र गठबन्धन भित्र कुनै तिक्तता नरहेको दाबी गरे । मंसीर ४ को निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट संघीय सांसदमा आफ्नो पनि उम्मेदवारी घोषणा गर्नु स्वभाविकै रहेको बताउदै उनले भने, “कांग्रेसको तर्फबाट संघीय सांसदमा मेरो उम्मेदवारी स्वभाविकै हो, जनताले पनि त्यही चाहिरहेका छन् तर अन्य नेताहरुले पनि स्वभाविक रुपमा उम्मेदवारी घोषणा गरेका छन्, तर गठबन्धनले निर्णय जसलाई गर्छ त्यहीँ नै आधिकारिक उम्मेदवार हो, जुनसुकै पार्टीबाट गठबन्धनले उम्मेदवारी दिए पनि जिताउन एक भएर लाग्नेछौँ ।”

प्रकाशित मिति : 15:54