२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

नेपाल बन्दको नाममा विद्यालय बन्द नगर्न सिजपको आग्रह

७ भदाै, काठमडाैँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले नेपाल बन्दको नाममा विद्यालय बन्द नगर्न आग्रह गरेको छ । सिजपले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

सिजपका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बालबालिकाको
पढ्न पाउने अधिकारमाथि कुठाराघात हुनेगरि आयोजना गरिने नेपाल बन्द वा त्यस किसिमका क्रियाकलापहरुले शान्तिपूर्ण वातावरणमा शिक्षा आर्जन गर्न पाउने बालबालिकाको हकको हनन हुने कुराप्रति सम्बन्धित सबै पक्ष जिम्मेवार हुनु जरुरी छ ।’

यस्तै विज्ञप्तिमा भनिएको छ, ‘राजनैतिक दलहरुले विभिन्न मुद्दाहरुमा पक्ष र विपक्षमा आफ्ना धारणाहरु प्रस्तुत गर्न सक्दछन् र सोका लागि शान्तिपूर्ण रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्न सक्दछन् । यद्यपि, बन्द वा त्यस किसिमका क्रियाकलापहरुले बालबालिका र विद्यालय शान्तिक्षेत्र हुन् भन्ने मान्यताको ठाडो उल्लङ्घनमात्र नभई कानूनी व्यवस्थाको अवहेलना तथा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिवद्धताप्रतिको बेवास्तापनि हो । त्यसैले, बन्दको विकल्पमा अन्य शान्तिपूर्ण गतिविधिहरुको खोजी गर्न र आन्दोलनको स्वरुपमा परिवर्तन ल्याउन सिजप आन्दोलनरत पक्षसँग आग्रह गर्दछ ।’

सिजपले बालबालिका र विद्यालय शान्तिक्षेत्र हुन् भन्ने मान्यता र राजनीतिक दलहरुले सो सम्बन्धमा जनाएको प्रतिवद्धता अनुसार बन्दसँग सम्बन्धित कार्यक्रमहरु तत्काल फिर्ता लिन र भविष्यमा यस किसिमका क्रियाकलापहरु नदोहोरिने कुराको सुनिश्चित गर्न तथा भयरहित वातावरणमा शिक्षा आर्जन गर्न पाउने बालबालिकाको मौलिक हकको व्यवहारिक कार्यन्वयन गर्न सरोकारवाला पक्षहरुसँग अनुरोध गरेको छ ।

सिजपले बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन भन्ने मान्यतामा जुनसुकै परिस्थितिमापनि प्रतिबद्ध रहन बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) सबै पक्षहरुसँग आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : August 23, 2022 at 7:20 am