२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

बेलायतले १० हजार नेपाली नर्स लैजाने, समझदारीपत्रमा हस्ताक्षर


६ भदाै, काठमाडाैँ । बेलायत र नेपाल सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरको उपस्थीतिमा मन्त्राललयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्नताको वातावरण तयार हुने र जनशक्तिको विकास समेत मद्धत पुग्ने मन्त्रालयले जनाएको छ । बेलायतमा स्वास्थ्य सेवामा कार्यरत रहदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको छ ।

नेपाली स्वास्थ्यकर्मी छनौट, पदस्थापन, सेवा सुविधा सम्बन्धी मापदण्ड हाल छलफलमा रहेको र यससम्बन्धी सवै व्यवस्था जिटुजी प्रक्रिया बमोजिम हुने सचिव अर्यालले बताए । परिक्षणको पहिलो चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिमेन्टेन्सनको प्रोटोकल स्पष्ट व्यवस्था गरिने र नियुक्ती प्रक्रियाका कुनै शुल्क नलाग्ने एवं रोजगारीका लागि छनौट भएकाहरुको लागतको शोधभर्ना समेत हुने सचिव अर्यालले बताए ।

त्यस्तै नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले नेपाली स्वास्थ्यकर्मीहरुलाई बेलायतमा रोजगारी दिन पाउनु खुसीको कुरा भएको भन्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढिकरण र आधुनिकिकरणमा सहयोग जारी रहने बताए ।

बेलायत सरकारले बेलायतको नेसनल हेल्थ सर्भिसेस अन्तरगतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ । तर, पहिलो चरणमा परिक्षणका रुपमा केहि संख्यामा मात्रै नर्सहरू पठाइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १४:५९