७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माधव नेपाललाई भीम रावलको जवाफः व्यक्तिको “हरिविजोग” गौण कुरा हो

४ भदौ, काठमाडौँ । नेकपा एमालेका नेता डा भीमबहादुर रावलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई जवाफ दिएका छन । शनिबार नेपालले एक कार्यक्रममा सम्बोधनका क्रममा एमालेमै रहेर हरिबिजोग भोग्न चाहेनौँ भनेको सन्दर्भको जवाफ दिँदै रावलले देशभक्त व्यक्ति राष्ट्रको लागि बलिदान पनि हुनसक्ने बताए ।

यस्तो छ नेता रावलको जवाफ

नेताद्वय केपी ओली र माधव नेपाल स्वयंंले वार्ता गरी निर्माण गर्नुभएको कार्यदलद्वारा तयार तथा ती नेताको सम्मति प्राप्त १० बुँदे सहमतिमा दृढतापूर्वक नअडेको भए आज गठबन्धन सरकारले नदीनाला लगायतका प्राकृतिक स्रोत विदेशीलाई बुझाएको, विदेशीका लागि नागरिकताको ढोका खुला राखेर राष्ट्रिय हितमा आघात पु¥याएको, संविधानको धारा २७९ विपरीत सिद्धान्तहीन तालमेल गरेर संविधान मिच्नुका साथै लोकतन्त्रको उपहास गरेको, वाह्य शक्तिको भक्तिबाट सत्तास्वार्थ पूर्ति गर्ने गलत बाटो समातेको, मन्त्री पद लगायत राज्यका पदहरुको भागबण्डा गरेको, कम्युनिष्ट पार्टी भन्नेले कांंग्रेसको अभिष्ट पूरा गरेको, देशले अंगिकार गर्नुपर्ने स्वतन्त्र परराष्ट्र नीतिमा आँच पु¥याएको, दलाल पूँजिपतिहरुको पक्षपोषण गरी संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख प्रणाली र आत्म निर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणको उद्देश्यमा प्रहार गरेको तथा “प्रतिक्रियावादी” भनिएकाहरुको कम्युनिष्टहरु माझ विभाजन र द्वन्द्व सिर्जना गर्ने प्रपञ्चलाई कम्युनिष्ट भनिनेहरुले नै मलजल गरेको जस्ता क्रियाकलापबाट देशको “हरिविजोग” भएको टुलुटुलु हेर्नुपर्ने रहेछ । देशको “हरिविजोग” हुननदिनु देशभक्त नागरिकको कर्तव्य हो । व्यक्तिको “हरिविजोग” गौण कुरा हो । देशभक्त व्यक्ति राष्ट्रको लागि बलिदान पनि हुनसक्छ ।

प्रकाशित मिति : August 20, 2022 at 10:59 pm