१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

निजीकरणकाे बाटोमा नुवाकोट एमाले ! सात महिनादेखि जिल्ला कमिटीको सूची गुपचुप

४ भदाै, नुवाकोट । नेकपा एमाले नुवाकोटको जिल्ला अधिवेशन २०७८ पुस २५ गते सम्मन भएको थियो । तर पदाधिकारी बाहेक जिल्ला कमिटीमा को को हुन भन्ने कुरा नेता कार्यकर्ताले अहिलेसम्म जान नपाएको खुलासा भएको छ । जिल्ला अधिवेशन सम्पन्न भएको सात महिनासम्म नेता र कार्यकर्ताले नेता र सामाजिक सञ्जाल मार्फत जिल्ला कमिटीको सूची खोजी गरिरहेका छन तर अहिलेसम्म पाउन सकेका छैनन् ।

नेकपा एमाले नुवाकोटका पूर्व जिल्ला कमिटी सदस्य एवं विदुर नगरपालिका वडा नम्बर ४ का दुई पटकका निर्वाचित अध्यक्ष गोपालमान श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा जिल्ला कमिटीको सूची मागेको निवेदनात्मक अनुरोध सार्वजनिक गरेपछि यो विषयको खुलासा भएको हो ।

नेकपा एमाले नुवाकोटका पूर्व जिल्ला कमिटी सदस्य एवं विदुर नगरपालिका वडा नम्बर ४ का दुई पटकका निर्वाचित अध्यक्ष गोपालमान श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा जिल्ला कमिटीको सूची मागेको निवेदनात्मक अनुरोध ।

गोपालमानको जिल्ला कमिटीको सूची मागेको स्टाटसमा कमेन्ट गर्दै नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य नारायण घिमिरेले एमाले नुवाकोट जिल्ला कमिटी भन्दा प्रालि भैरहेको उल्लेख गरेका छन । उनले विधान अनुसारको संख्या कति हुनुपर्ने हो त्यो सार्वजनिक गर्नुपर्ने भन्ने प्रश्न गर्दै भनेका छन नुवाकोट जिल्ला कमिटी होइन प्रालि भइरहेको छ । उनले भनेका छन, ‘बिधान अनुसार कति संख्या हुने हो सार्वजनिक गर्नुपर्यो ? नुवाकोट जिल्ला कमिटी होइन प्रा.लि. भइ रहेको छ।’

नेकपा एमालेको विधान अनुसार नुवाकोटमा एमालेको जिल्ला कमिटी अधिकतमा १४२ सदस्यीय हुने र त्यो भन्दा धेरै संख्या नहुने एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे बताउँछन । जिल्ला अधिवेशनले ११९ सदस्यीय कमिटी हलबाट अनुमोदन गरेर सोही हलबाट पादधिकारी चयन गरेको थियो । तर जिल्ला अध्यक्ष बद्री मैनालीसँग जिल्ला कमिटी सदस्य भनेर धेरै लामो सूची रहेको छ ।

नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य नारायण घिमिरे, जिल्ला कमिटी नुवाकोटका अध्यक्ष बद्री मैनाली र पूर्व जिल्ला कमिटी सदस्य गोपालमान श्रेष्ठ ।

अधिवेशनपछि २५० सदस्यीय कमिटीको सपथ गराइएको थियो। यद्यपी जिल्ला अधिवेशनबाटै निर्वाचित भएको भन्दै निर्वाचन समितिले प्रति व्यक्ति तीन हजार रूपैयाँ लिएर सपथ गराएको थियो । तर पछि केन्द्रीय नेतृत्वको चेतावनीपछि एमालेले ११९ सदस्यीय भन्दा बाहेकको कमिटी नभएको भन्दै गोप्य रूपमा जिल्ला कमिटीको छोटो सूची बनाएर बाँडिएको नेताहरूले बताएका छन । अध्यक्ष मैनालीले त सपथ कार्यक्रममा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेलको नाम नै लिएर जिल्ला कमिटीको संख्या आवश्यकता अनुसार बढाउन अनुमति पाएको भाषण नै गरेका थिए ।

विदुरको एक होटलमा ३ हजार रूपैयाँ तिरेर सपथ खाएका कतिपय भने केही दिनमै जिल्ला कमिटीबाट मुक्त भएका थिए । उनीहरूले अहिलेसम्म उक्त ३ हजार रूपैयाँ पनि फिर्ता नपाएको गुनासो गरेका छन । एमालेको विधान अनुसार जिल्ला अधिवेशनबाट निर्वाचित हुनका लागि निर्वाचन समितिले तोकेको फारम भरेर ३ हजार रूपैयाँ तिर्नुपर्छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य नारायण घिमिरेले सामाजिक सञ्जालमा जनाएको प्रतिक्रिया ।

फारमको शुल्क १ सय तिर्दा जम्मा ३१ सय रूपैयाँ तिर्नुपर्ने हुन्छ । तर नुवाकोट एमालेले ३१ समय रूपैयाँ लिएर जिल्ला कमिटीको सदस्यको सपथ त खुवायो तर जिल्ला कमिटीको सूची चाहिँ सार्वजनिक नगरेपछि कार्यकार्ता आक्रोशित बनेका छन । उनीहरूले अधिवेशनको हलबाट निर्वाचित भएका ११९ जना भन्दा बाहेकका सदस्यसँग उठाइको ३१ सय रूपैयाँ फिर्ता गर्नुपर्ने बताएका छन । सपथको समयमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य महेन्द्र पाण्डे र जिल्ला इन्चार्ज विन्दा ढुंगाना समेत उपस्थिति रहेका थिए । तर सात महिनासम्म जिल्ला कमिटीको सूची गुपचुप राखिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी नुवाकोटका उपसचिव निलकण्ठ आचार्यले अहिले १६५ जनाको कमिटी रहेको जानकारी दिए । उनले ४१ जनाको नाम जिल्ला कमिटीमा राख्नका लागि अनुमोदनका लागि प्रदेश कमिटीमा पठाइएको जानकारी दिए । उनले जिल्ला कमिटीको बैठकका १६५ जना नै उपस्थित हुने गरेको बताए ।

जिल्ला कमिटी सदस्य भन्दा बाहिरका कार्यकर्तासँग जिल्ला कमिटी सदस्यका लागि भनेर उठाइएको रकमको रसिद ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको गृह जिल्ला समेत रहेको नुवाकोटमा एमालेमा देखिएको भद्रगोल कहिले र कसरी मिल्ला ? चुनावको समयमा नेताहरूले कार्यकर्ता खोज्न थालेपछि कार्यकर्ताले भने नेताहरूसँग जिल्ला कमिटीको सूची माग्न थालेका छन । जिल्ला कमिटीमा विधान मिचेर सदस्यहरू थपिएको विषयमा यसअघि एमाले बागमती प्रदेशको प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओलीले गम्भीर आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : 10:34