नेकपा एसले माओवादीसँग पार्टी एकता गर्ने, संयोजन समिति गठन गर्ने निर्णय
१ भदाै, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’बनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट सुरु हुने पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बताए ।
उनले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताए । बैठकले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको उनले जानकारी दिए । उनले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताए । साथै समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताए ।
यसअघि माओवादी केन्द्रको सचिवालय बैठकले डा.बाबुराम भट्टराई र बामदेव गौतमलाई आफ्नै पार्टीको निर्वाचन चिन्हबाट निर्वाचनमा सहभागी गराउने निर्णय गरेको दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई जोडेर नेकपा समाजवादी केन्द्र निर्माण गर्ने बताएका थिए ।
बाबुराम भट्टराई र बामदेव गौतम पनि पार्टी एकता गर्ने आन्तरिक तयारीका साथमा एउटै निर्वाचन चिन्हमा निर्वाचन लड्न तयार भएका हुन् । निर्वाचन आयोगमा समेत उनीहरुले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने क्रममा एउटै निर्वाचन चिन्हमा निर्वाचन लड्ने गरी दल दर्ता गराइसकेका छन् ।
प्रकाशित मिति : 19:17









