७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राष्ट्रपतिले फिर्ता पठाएकाे नागरिकता विधेयकबारे छलफल गर्न गठबन्धनको बैठक बालुवाटारमा

३१ साउन, काठमाडाैँ । सत्तारुढ गठबन्धन दलको बैठक बसेको छ । आगामी निर्वाचन र नागरिकता विधेयक फिर्ताकाे विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूको बैठक बसेको हो ।

बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, राष्ट्रपति कार्यालयबाट फिर्ता आएको नागरिकता विधेयक लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पाँच दलीय गठबन्धनमा अन्य दलहरूले पनि सहभागी हुने इच्छा व्यक्त गरिरहेका छन् । हाल पाँच दलीय रहेको गठबन्धन निर्वाचनसम्ममा कम्तिमा ८ दलीय पुग्ने अवस्था छ ।

त्यस्तै, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेका विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार संसदमै फिर्ता गरेकी थिइन् । विधेयक फिर्ता गर्दा राष्ट्रपति भण्डारीले संसदलाई १५ बुँदे सन्देश लेखेकी छन् । सोही विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ ।

नागरिकता विधेयक फिर्ता भएपछि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले विधेयक पुन फास्ट ट्रयाकबाट संसदबाट पारित गरी राष्ट्रपति कार्यालय पठाउनु पर्ने धारणा राखेको छ । अन्य दलले भने राष्ट्रपतिले पठाएको सन्देशमा गठबन्धनमा रहेका दलहरूबीच समान धारणा बनाउनुपर्नेमा जोड दिइरहेका छन् । मंगलवारको गठबन्धनको बैठकमा नागरिकता विधेयक फिर्ता आएको अवस्थामा समान धारणा बनाउन प्रयत्न गरिने एक नेताले बताए ।

प्रकाशित मिति : August 16, 2022 at 1:13 pm