७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कांग्रेस नेता महर भन्छन्– हरेक दलले ६० वर्ष मुनीका ७० प्रतिशत उम्मेदवार बनाउनु पर्छ

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले राजनीतिमा युवाहरुको जवरजस्त उपस्थिति आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवशको अवसर पारेर दिगो विकासका लागि राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सञ्जालले आयोजना गरेको ‘राजनीतिमा युवा सहभागिता र नेतृत्व’ विषयक प्यानल छलफल कार्यक्रममा बोल्दै महरले युवा नेतृत्व स्थापित हुनका लागि आसन्न संघ र प्रदेशको निर्वाचनमा सबै दलहरुले ६० वर्ष मुनीका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्ने बताए।

‘यस पटकको स्थानीय तह निर्वाचनमा २१ देखि ४० वर्ष उमेर समूहका ४१.१४ प्रतिशत युवा निर्वाचित हुनु सुखद पक्ष भएको र आसन्न निर्वाचनमा पनि युवाको सम्मानजनक उपस्थिति हुनुपर्छ,’ नेता महरले भने।

आजको राजनीतिमा दशकौंअघि देखि युवाको नाममा दलहरुभित्र केही सीमित व्यक्ति स्थापित भए पनि अहिले उनीहरु पुराना भइसकेको भन्दै महरले वर्तमान नेपाली राजनीतिले नयाँ भिजनसहितको नयाँ युवा खोजेकाले राजनीतिक पार्टीले ४९ प्रतिशत बढी मतदाता रहेको युवाको परिवर्तनगामी चाहना बुझ्नु पर्ने धारणा राखे।

३४ वर्षको उमेरमा सन्ना मारिन फिललेण्डको प्रधानमन्त्री बनेको अमेरिकामा ८२ वर्षीय सभामुख र ८० वर्ष हाराहारीको राष्ट्रिपति भएका कारण उमेरसँगै व्यक्ति परिवर्तन प्रतिको चाहना, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने क्षमता झनै महत्वपूर्ण भएको महरले बताए।

वीपी कोइराला मदन भण्डारीहरु एमेरले मात्रै नभई भिजन र कार्यक्रम कार्यान्वयन तथा साहसका कारण युवा अवस्थामै नेता सभापति भएकाले युवा पुस्ताले आँटका साथ नेतृत्वका लागि हस्तक्षेपकारी कदम चाल्नु पर्ने बेला आएको बताउँदै नेता महरले युवा स्वयं दायित्वका रुपमा नभई सम्पत्तिका रुपमा आइडल भएर अगाडी बढ्नु पर्ने धारणा राखे।

यस पटकको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट ४० प्रतिशत, एमाले ३३ र माओवादीबाट १७ तथा अन्य १० प्रतिशत युवा निर्वाचित भएको बताए। युवा नेतृत्वमा स्थापित हुन र स्वतन्त्र रुपमा काम गर्न भोक र डरबाट मुक्त हुनुपर्ने र यो लोकतन्त्रमा मात्रै यो सम्भव भएको बताए।

प्रकाशित मिति : August 13, 2022 at 6:14 pm