३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

माओवादीतिर लागेपछि राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष सापकोटा कारबाहीमा

२७ साउन, काठमाडाैँ । राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र सापकोटा पदमुक्त भएका छन । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को निर्वाचनको सम्बन्धमा वरिष्ठ उपाध्यक्ष सापकोटाले माओवादीको उम्मेदवार बोकेर प्रचारमा हिडेँपछि कारबाहीमा परेका हुन ।

संगठनका महासचिव यमबहादुर खड्काले शुक्रबार विज्ञप्ति निकाल्दै सापकोटा सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको जानकारी दिएका छन । उनले सापकोटाले पार्टी र संगठन विरोधी गतिबिधिलाई निरन्तरता दिए साधारण सदस्य समेत नरहनेगरी कारबाही हुने चेतावनी समेत दिएका छन ।

यसअघि संगठनले सापकोटालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर सर्वसम्मतका लागि पहल गर्दा सम्भव नभएपछि बहुमतमा जाँदा संगठनले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई चुनौति दिँदै सापकोटाले माओवादी केन्द्रका उम्मेदवार बोकेर चुनावी प्रचारमा लागेपछि संगठनले कारबाही गरेको हो ।

शुक्रबार बसेको संगठनको पदाधिकारी बैठकपछि प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७९ श्रावण २७ गते नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन को पदाधिकारि को बिस्तारी बैठक को निर्णय अनुसार संगठनलाई एकतावद्ध ढंगले अगाडी बढाऊनू सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुको दायीत्व भएकोमा यस संगठनका बरिस्ठ उपाध्यक्ष क. राजेन्द्र प्रसाद सापकोटा संगठनको निर्णय विपरित संगठनलाई अहित हुनेगरी बिभीन्न अभिव्यक्ति दिनु भएको, अनाधिकृत रूपमा संगठन को नाम बाट भेला गर्दै हिडनू भएको तथा विभिन्न सामाजीक सन्जाल मार्फत विज्ञप्ती प्रेषित गर्नु भएको प्रति संगठनको बैठकले गंभिर आपत्ती जनाएको छ ।’

विज्ञप्तिमा अघि भनिएको छ, ‘यस संगठनको मुल्य मान्यता तथा महत्वको आधारमा संगठित हुनु भएका सम्पुर्ण सदस्यहरुको वृति तथा व्यक्तित्व विकासमा संगठनले ध्यान दिनुपर्नेमा संगठनले निर्णय गरी आगामी टानको निर्वाचनमा यस संगठनका सदस्यहरुलाई सहभागिता गराईएको विषयलाई उहाले व्यक्त गरेका सार्वजनिक अभिव्यक्तिहरु संगठनको निर्णय विपरित भएको हुदाँ उहाँलाई तत्काल संगठन ले दिएका सबै जिम्मेवारी बाट मुक्त गरि आजको दिन देखी संगठन ले समर्थन गरेको आधिकारिक उम्मेदवारहरु निल हरि बास्तोला समुहलाई सहयोग गर्न अनुरोध गरिन्छ । साथै यस्ता गतिबिधिलाईनिरन्तरता दिएमा यस संगठन को साधरण सद्स्य समेत नरहने गरी कार्बाही गर्न संगठन बाध्य हुने छ ।’

प्रकाशित मिति : August 12, 2022 at 7:28 pm