३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

नर्भिकले कब्जा गरेको सरकारी जग्गा खाली नगरे डोजर चलाउने मेयर साहको चेतावनी


२४ साउन, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले नर्भिक अस्पतालले कब्जा गरेको सरकारी जग्गा खाली गर्न अटेरी गरे डोजर चल्ने प्रष्ट पारेका छन । कानुन सबैका लागि समान हुने भन्दै मेयर साहले थपिएको समयमा नर्भिक अस्पतालले अबैध संरचना नहटाए डोजर चलाउन बाध्य हुने र त्यस निर्णयबाट पछि नहट्ने बताएका छन ।

मंगलबार नर्भिक अस्पताल पुगेर फर्किएपछि सामाजिक सञ्जाल मार्फत उनले कानुनको नजरमा सबै समान हुने र इन्जनियरले अबैध संरचना स्थानान्तरका लागि दिने समयमा पनि अस्पतालले संरचना नसारे काठमाडाैँ महानगरपालिका निर्णयबाट पछि नहट्ने बताएका छन ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रष्ट छौँ । सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनु पर्छ । नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो । दिइएको समयमा सुधार नभए पछि कानुनको कार्यान्वयन गर्नका लागि अनाधिकृतरुपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो । सो थप समय कति हुने भन्ने सम्बन्धमा संरचनाको स्थानान्तरणका लागि लाग्ने न्युनतम समयले फरक पार्ने छ । इन्जिनियरिङ अध्ययनबाट सो समय तोकिने छ । यसैले हामी पुन: आग्रह गर्छौँ, कानुनको पालना गर्दै त्यहाँ भएका अनाधिकृत संरचनाहरु हटाइदिनुहोला । अन्यथा, अन्य कुनै कारणले कानुनको पालना गर्नबाट हामी पछि हट्ने छैनौँ ।’

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १८:१९