३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

होर्डिङ बोर्ड नबनाइ बिल मिलाएर खाने कमल खनालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता


२४ साउन, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोट जिल्लाका तत्कालीन एलएपीए कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गर्दा खनालले भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले मंगलबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

साविक जिल्ला विकास समितिको कार्यालय कालिकोटबाट आर्थिक बर्ष २०७०/७१ मा सञ्चालन भएका बिभिन्न कार्यक्रमको प्रचारप्रसार कार्यक्रममा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले खनालमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा आर्थिक वर्ष २०७०/७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भरपाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको खुल्न आएको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानका क्रममा खनालले ३ लाख २६ हजार ४९७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । असैअनुरुप अख्तियारले आज दायर गरेको मुद्दामा खनालसँग ३ लाख २६ हजार ४९७ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १६:१५