७ असार २०८३, आइतबार | Sun Jun 21 2026

अघि बढ्यो प्रत्यक्षमा ५० प्रतिशत सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

२४ साउन, काठमाडाैँ । आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव संसदमा अगाडि बढाइएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिटमा आधा महिला उम्मेदवार हुनुपर्ने सम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक रहेको यो प्रस्तावमा लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई समर्थक छन् ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुको दुईवटा उद्देश्य छन् ।

१. संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ।

२. स्थानीय तहको निर्वाचनमा प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष, जिसस प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा पचास प्रतिशत महिला उम्मेदवारी दिनुपर्नेछ।

साथै मंगलबारकै बैठकमा सांसद विन्दा पाण्डेले पनि आगामी निर्वाचनमा प्रदेशसभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्दै ध्यानाकर्षण प्रस्ताव पेस गरेकी छन् ।

प्रकाशित मिति : August 9, 2022 at 3:44 pm