२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

-विजय हितान

मेरो सिङ्गो अस्तित्व भन्नू म उभिएको जमिन रहेछ
मेरो पुरै अस्तित्व भन्नु
मुटु कलेजो किड्नी र फोक्सो रहेछ
खासमा मान्छेको शरिरको संरचना पनि देश नै रहेछ
एक सार्बभौमसत्ता सम्पन्न राष्ट्रजस्तै ।

तर , पछिल्लो समय
मेरो फोक्सोमा दसगजा भत्काउँदै भित्र पसेका भाईरस
त्यसपछि भेन्टिलेटरमा निरीह अल्झीरहेको सिकिस्त बिरामीजस्तै
फोक्सो कमजोर छ
कालापानी , लिम्पियाधुरा अतिक्रमण गर्दै भित्र पसेका
यि भाइरल आप्रबासीद्वारा आईसीयुमा थुनिएर बसेको छ ।
जहाँबाट –
मेरा ईन्द्रियहरुले मुस्किलले झ्याल बाहिरको दृश्य नियालीरहेछ
ओहो,
नदिले बाटो बदले जस्तो
सायद तुफानी हावा चलेजस्तो
सायद हजारौं बर्षपछि यो पहाडमा अडीरहेको ठुलो ढुङ्गा लडेजस्तो
उत्पतीकालदेखि मान्छेले दोहोन गरेपछि
छिया छिया परेको यो पृथ्वीको अनुहारजस्तो
कोरोनाको बिरोधमा मेरो देशको सरकारले
ओभर डोज लगाउँदै मर्दै गरेका निरीह नागरिक जस्तो
अथवा ,
अस्पतालको बेडबाट बाँच्ने अभिलाषामा रुखका पातहरु नियालीरहेको मेरो मुटुको ढुकढुकी जस्तो ।

पृथ्वी मैले पनि तिमीलाई दुखाएकै हो
कति कुरुप बनाएका छन् मेरा आविष्कारहरुले तिम्रो सौर्न्दर्य
यी बिज्ञानका दुषीत रागहरु जस्तो
कुनै चित्रकारले घृणाले बनाएको आतंककारी चित्रजस्तो
मलाई थाहा छ मेरो नियतिको कथा
होईन मैले मात्र होईन सम्पुर्ण मानव जातीलाई थाहा हुन जरुरी छ
रोकथामका धारिलो ईन्जेक्सनहरुले केवल भ्रम छर्छ
जसरी बिकासको नाममा संसार बिनासतर्फ अगाडि बढिरहेछ
र,
मानिसबाट प्रेम , स्नेह सद्भाव र सहिष्णुता सकिँदै गएको छ ।

सुन समग्र पृथ्वीबासीका मानवहरु
दुखान्त कथाको अन्तिम हरफ जस्तो के अब हामी सकिन लागेकै हौं ?
आऊ–
यो पृथ्वी सबैको साझा बासस्थान हो हामी सबै मिलेर बसौं
अनि त कसो नहोला फोक्सो राष्ट्रको सार्बभौमसत्ता ।

(हाल बेलायतमा बसोबास गर्दै आएका लेखक विजय हितान एक दशक भन्दा लामो समयदेखि वातावरण साहित्य लेखनमा सक्रिय छन । आधा दर्जन कृतिका लेखक हितान भुतपूर्व बेलायती सैनिक समेत हुन । उनी हाल बेलायत सरकारमा वातावरण विज्ञको रुपमा कार्यरत रहेका छन ।)

प्रकाशित मिति : August 7, 2022 at 7:44 am