२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

उत्तरगया खाल्डेका ३२ परिवारका लागि लायन्सले अस्थायी बस्ती बनाइदिने

२३ भदाै, नुवाकोट । रसुवाको उत्तरगया गाउँपालिका–खाल्टेका बाढी प्रभावित ३२ परिवारका लागि लायन्स इन्टरनेशनलले अस्थायी घरटहरा निर्माण गरी व्यवस्थित रूपमा पुनर्स्थापना गर्ने प्रस्ताव अघि सारेको छ।

बाढीपछि लायन्स इन्टरनेशनलद्वारा सञ्चालित अस्थायी आवास केन्द्रमा आश्रय लिइरहेका खाल्टेका ३२ परिवारका ६९ जना अहिले विद्यालय खाली गर्नुपर्ने अवस्था आएपछि पुनः आश्रयको समस्यामा पर्ने जोखिममा छन्।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आईको क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठका अनुसार प्राकृतिक विपत्तिको पीडा भोग्नेहरूलाई मात्रै त्यसको वास्तविक असर थाहा हुन्छ। लामो समयदेखि अस्थायी आश्रयमा रहेका बाढी प्रभावित परिवारलाई विद्यालयबाट समेत हटाउनुपर्ने अवस्था आएपछि उनीहरूको सुरक्षित पुनर्स्थापनाका लागि लायन्सले अस्थायी बस्ती निर्माणको प्रस्ताव अघि सारेको हो।

विद्यालय सञ्चालनसम्बन्धी समयसीमा र होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका विद्यालय खाली गराउने विषयमा देखिएको अन्योलका कारण ३२ परिवारलाई तत्काल वैकल्पिक आवास आवश्यक परेको श्रेष्ठले बताएका छन्।

‘पठनपाठन प्रभावित नहोस् र बाढीपीडितहरू पनि सडकमा आउन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,’ श्रेष्ठले भनेका छन्, ‘उत्तरगया गाउँपालिकाले आवश्यक जग्गा उपलब्ध गराएमा लायन्स इन्टरनेशनल तत्काल अस्थायी घरटहरा निर्माण गर्न तयार छ।’

गाउँपालिकाले जग्गा उपलब्ध गराएपछि प्रभावित परिवारलाई सुरक्षित रूपमा स्थानान्तरण गर्ने गरी योजना अघि बढाइने लायन्सले जनाएको छ। निर्माण गरिने अस्थायी घरटहरामा परिवारलाई आवश्यक पर्ने आधारभूत सामग्रीसमेत उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

लायन्सका अनुसार प्रत्येक परिवारलाई खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, ओढ्ने–ओछ्याउने सामग्री, ग्यास, चुलो लगायत दैनिक जीवनयापनका लागि आवश्यक घरायसी सामग्री उपलब्ध गराइनेछ। घरटहरा पूर्ण रूपमा तयार भएपछि परिवारलाई हस्तान्तरण गर्ने योजना छ।

त्यसैगरी प्रभावित परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रत्येक परिवारका कम्तीमा एक जना सदस्यलाई व्यावहारिक तथा रोजगारमूलक सीप तालिम प्रदान गर्ने प्रस्ताव पनि अघि सारिएको छ। तालिममार्फत प्रभावित परिवारका सदस्यलाई स्वरोजगार तथा आयआर्जनमा जोड्ने लायन्सको योजना छ।

बाढी प्रभावित बालबालिकाको शिक्षामा अवरोध नहोस् भनेर उनीहरूको नियमित पठनपाठनको व्यवस्था मिलाउने तथा प्रभावित क्षेत्रमा लायन्स क्लबमार्फत नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना पनि प्रस्तावमा समेटिएको छ।

श्रेष्ठका अनुसार लायन्सको उद्देश्य केवल अस्थायी टहरा निर्माण गर्नु मात्र नभई प्रभावित परिवारलाई सुरक्षित, व्यवस्थित र आत्मनिर्भर जीवनतर्फ अघि बढाउने गरी ‘आत्मनिर्भर बस्ती’ निर्माण गर्नु हो।

‘हामी केवल एउटा टहरा निर्माण गर्न चाहँदैनौँ, एउटा आत्मनिर्भर बस्ती नै निर्माण गरेर बाढी प्रभावितलाई सम्मानपूर्वक पुनर्स्थापित गर्न चाहन्छौँ,’ श्रेष्ठले भनेका छन्।

प्रस्ताव कार्यान्वयनका लागि उत्तरगया गाउँपालिका, स्थानीय प्रशासन तथा सम्बन्धित निकायको समन्वय र सहयोग आवश्यक रहेको लायन्सले जनाएको छ। समयमै जग्गा व्यवस्थापन भएमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल अघि बढाउन सकिने श्रेष्ठको भनाइ छ।

विपद्को कठिन अवस्थामा प्रभावित परिवारको पुनर्स्थापनाका लागि लायन्स क्लबहरू तथा लायन सदस्यहरूलाई समेत अभियानमा हातेमालो गर्न आह्वान गरिएको छ।

प्रकाशित मिति : September 8, 2026 at 6:50 am