३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

सदाबहार गायक दीप श्रेष्ठ ब्याण्ड सहित एडिलेड आउदै

एडिलेड — सदाबहार गायक दीप श्रेष्ठ आगामी ३१ जुलाई २०२६ (शुक्रबार) एडिलेडमा आयोजना हुने विशेष सांगीतिक कार्यक्रममा आफ्ना ब्याण्डसहित प्रस्तुत हुने भएका छन्।

‘दीप श्रेष्ठ साँझ – अन्तरङ्ग साँझ’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रम सारङ्गी इभेन्ट्सको आयोजना तथा केन्टफोर्ड इन्स्टिच्युटको प्रस्तुतिमा हुन लागेको हो।

साउथ अष्ट्रेलियाको स्थानिय एभरेष्ट इभेन्ट सेन्टरमा आयोजना हुने कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुने सारङ्गी इभेन्ट्सका निर्देशक हेम श्रेष्ठले बताउनु भयो ।

नेपाली सङ्गीत आकाशमा पाँच दशकभन्दा लामो सांगीतिक यात्रा तय गरिसकेका वरिष्ठ गायक श्रेष्ठले तिन पुस्ता देखी नेपाली श्रोताको मन जित्दै आउनुभएको छ। एडिलेडमा आयोजना हुने यस ऐतिहासिक साँझमा श्रोताहरूले उहाँका लोकप्रिय एवं कालजयी गीतहरू प्रत्यक्ष सुन्न पाउनेछन्।

कार्यक्रममा उहाँले आफ्ना सदाबहार गितहरु म त दुर देखि आएँ, म पत्थरको देवता होइन, झस्किएको छ मन मेरो, बितेका कुराले, बादलहरू हो लगायतका कालजयी सिर्जनाहरू ब्याण्डको लाइभ सङ्गीतमा आयोजकले जनाएका छन् ।

वरिष्ठ गायक दीप श्रेष्ठ रेडियो नेपालका उत्कृष्ट पुरुष गायक पुरस्कार, छिन्नलता पुरस्कार, सान मिगेल म्युजिक अवार्ड, हिट्स एफएम म्युजिक अवार्ड र इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड जस्ता प्रतिष्ठित विधाबाट सम्मानित हुनुहुन्छ। सङ्गीत क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि उहाँ नेपाल सरकारको ख्यातिप्राप्त राष्ट्रिय सम्मान ‘गोरखा दक्षिण बाहु’ बाट समेत विभूषित व्यक्तित्व हुनुहुन्छ।

सारङ्गी इभेन्ट्सका निर्देशक हेम श्रेष्ठले दीप श्रेष्ठ नेपाली सङ्गीतका जीवित इतिहास भएको बताउदै उहाँलाई एडिलेडमा प्रत्यक्ष प्रस्तुत गराउन पाउनु आफ्नालागि  ठूलो गौरवको विषय भएको बताउनु भयो । उहाले नेपाली समुदायलाई एक अविस्मरणीय सांगीतिक साँझ बनाउने प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रम हलको क्षमता अनुसार केवल १०० सिट मात्र उपलब्ध रहने आयोजकले जनाएका छन् ।

संगीतप्रेमीहरूका लागि बहुप्रतीक्षित मानिएको यस कार्यक्रमको टिकटसम्बन्धी थप विवरण भने छिट्टै सार्वजनिक गरिने सारङ्गी इभेन्ट्सले जनाएको छ।

प्रकाशित मिति : July 16, 2026 at 4:27 pm