७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

राजधानीमा नेपथ्य साँझः कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

https://www.muktinathbank.com.np/online/loan-application

२७ असोज , कीर्तिपुर । नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । तैपनि टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र आठ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले ।

कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन दशकअघि भर्खर जन्मिएको ब्यान्डलाई पहिलो पटक प्रस्तुतिका लागि निम्त्याएका थिए त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी विभागका विद्यार्थीले । विश्वविद्यालयको अडिटोरियम हलमा त्यति बेला नेपथ्यले केवल दुईवटा गितारको सहायतामा ‘अकोस्टिक कन्सर्ट’ गरेको थियो । त्यस विन्दुबाट यात्रा गरेर नेपथ्य शनिबार त्यही कीर्तिपुरको ल्याब स्कुल मैदानसम्म आइपुगेको हो । यति बेला ब्यान्डसँगसँगै यसका संस्थापक एवं मुख्य गायक अमृत पनि हरहिसाबले परिपक्व भइसकेका छन् । यस बीचमा ब्यान्डलाई मन पराउँदै हुर्किएका फरकफरक पुस्ताका दर्शकका निम्ति नेपथ्य झन्‍पछि झन् ऊर्जावान् बन्दै गएको छ, जुन शनिबारको नेपथ्य साँझले थप पुष्टि गरेको छ ।

प्रस्तुतिका क्रममा अमृतले आफू विश्वविद्यालय पढ्दाको समय सम्झिए । ‘त्यति बेला कीर्तिपुरका फाँटहरू जताततै खाली देखिन्थे,’ उनले भने, ‘हामी विशेष गरेर भाषा र संस्कृतिबारे अनेक बहस गर्थ्यौं ।’कार्यक्रममा कर्णाली भेगबाटै सङ्कलन गरिएको पछिल्लो गीत ‘कर्नालीका छाइला’ प्रस्तुत गर्नुअघि अमृतले नेपाली भाषाको उत्पत्ति थलो कर्णालीको सिँजा उपत्यकाबारे पनि अमृतले चर्चा गरे ।

‘भाषा रहे भाका रहन्छ,’ उनले आह्वान गरे, ‘यो नेपाली भाषालाई सबै मिलेर बचाऔँ है… ।’ सबै उमेर समूहका दर्शक देखिने कन्सर्टमा त्रिभुवन विश्वविद्यालयको कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका पूर्वप्रमुख प्रेम खनाल पनि थिए । पोखराको लेखनाथ घर भएका खनाल ‘घर हाम्रो पोखरा’ भन्ने गीत प्रस्तुत हुँदा नाचिरहेका देखिन्थे । यो उनको पाँचौ नेपथ्य अनुभव थियो ।

‘भर्खरै नेपथ्यको जीवनी पढेको थिएँ । ब्यान्डको यात्रा अनि गीतहरूको पृष्ठभूमि बुझेर कन्सर्टमा आउँदा झन् रमाइलो हुँदो रहेछ,’ उनी आफ्नो विषयलाई जोडेर भनिरहेका थिए, ‘अन्तर्राष्ट्रिय सम्बन्धमा कलाको पनि अर्थ रहन्छ । अमृत गुरुङको सङ्गीतले पनि संसारलाई जोड्ने काम गरिरहेकै छ ।’

प्रस्तुतिका क्रममा मुलुकले लगातर प्राकृतिक विपत्ति झेल्दै आएको प्रसङ्ग निकाल्दै गायक अमृतले यस्तो बेला सरकार र प्रभावित समुदायलाई गच्छे अनुसारको सहयोग गर्न दर्शकमाझ आह्वान पनि गरे । दुईवटा म्युजिक भिडियोको प्रस्तुतिसहित निर्धारित समयमै सुरु भएको कन्सर्टमा अमृतले अन्तिममा राष्ट्रिय झन्डाको महिमा बयान गर्दै ‘रातो र चन्द्रसुर्जे’ गीतका साथ प्रस्तुति समापन गरे ।

कन्सर्ट सकिएपछि एक दर्शक प्रविन रानाभाटले आफ्नो फेसबुकमा तस्बिर र भिडियोसहित लेखेका छन्, ‘योसमेत गरेर मैले छ पटकभन्दा बढी नेपथ्यको लाइभ हेरिसकेको छु, तर जति चोटि हेरे पनि हरेक पटक पहिलो कन्सर्टजस्तै आनन्द, शक्ति र ऊर्जा मिलेको महसुस हुनु नेपथ्यको विशेषता हो ।’

प्रविनले कीर्तिपुरको साँझ कन्सर्टमा केवल सीमित नरहेर सङ्गीतले फरक पुस्तालाई कसरी जोड्छ, मान्छेको मनमुटुमा कसरी त्यसले स्पर्श गर्छ अनि कसरी सदाका निम्ति मिठो याद बनेर बस्न पुग्छ भन्ने उदाहरण पनि बन्न पुगेको उल्लेख गरेका छन् ।

अर्की दर्शक रेश्मा शाक्यले पनि फेसबुकमा भिडियो पोस्ट गर्दै लेखेकी छन्, ‘ड्रिम कम ट्रु (सपना साकार भयो) । यस्तो लाग्यो, मेरो जीवनबाट यस्तो सपना कहिल्यै नसकिऊन् ।’ मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, किबोर्डमा दिनेशराज रेग्मी र मादलमा सुन्दर महर्जनले सघाएका थिए ।

प्रकाशित मिति : October 13, 2026 at 2:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/