७ बैंकले घोषणा गरे लाभांश, कुनको कति ?
२१ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् । हालसम्म तीन वाणिज्य बैंक, तीन विकास बैंक र नेपाल पूर्वाधार बैंक (निफ्रा) ले पनि सेयरधनीहरुका लागि लाभांश घोषणा गरिसकेको छ ।
गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र सानीमा बैंक रहेका छन् । त्यस्तै विकास बैंकमा कामना सेवा, गरिमा र साग्रिंला डेभलपमेन्ट बैंक रहेका छन् ।
लाभांश घोषणा गरेका बैंकमध्ये सेयरधनीलाई सबै भन्दा धेरै लाभांश गरिमा विकास बैंकले दिने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुमा सबै भन्दा धेरै लाभांश एभरेष्ट बैंक दिने भएकाे छ । बैंकले सेयरधनीहरुलाई १० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी १५ प्रतिशत लाभांश दिने भएकाे छ । त्यस्तै ग्लोबल आइएमई बैंकले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । सानिमा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत नगद मात्रै लाभांश वितरण गर्ने भएकाे छ ।
त्यस्तै विकास बैंकहरुमा कामना सेवाले कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बोनस र ६.५२६ प्रतिशत नगद गरि १०.५३६ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै निफ्राले सेयरधनीहरुलाई ५.२६ प्रतिशत नगदा लाभांश वितरण गर्ने भएकाे छ ।
प्रकाशित मिति : September 6, 2026 at 3:46 pm


