टिन स्टार इन्टरनेसनलमा नेपालका प्रसुनजंग
११ साउन, काठमाडौं । नेपाली बालगायक प्रसुनजंग पोखरेलले थाइल्यान्डमा अन्तर्राष्ट्रिय प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । ब्राइट फ्युचर सेकेन्डरी स्कुल, नैकापमा कक्षा ९ मा अध्ययनरत प्रसुनजंगले आगामी साता थाइल्यान्डको बैंककमा हुने प्रतियोगितामा गायन कला प्रस्तुत गर्नेछन् ।
प्रसुन परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम ‘डीएसए (डान्स, सिङगिङ एन्ड एक्टिङ) सिङगिङ स्टार २०१९’ को विजेता हुन् ।
देशभरका विभिन्न विद्यालयका करिब हजार प्रतिस्पर्धीमध्ये ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गरेका एक सय चार विद्यार्थीलाई पछि पार्दैै ‘डीएसए सिङगिङ स्टारमा गायन विधाको विजयी बनेका १४ वर्षीय प्रसुनले ‘टिन स्टार इन्टरनेसनल’मा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका प्रतिभाका बीच आफूलाई प्रतिस्पर्धामा उतार्नेछन् ।
विद्यालयमा आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष राजभाइ महर्जन, विद्यालयका संस्थापक प्रिन्सिपल मोहन कार्कीले शुभकामना दिएका थिए ।
प्रसुनकी आमा विमला पोखरेलले आफूले सधैं सन्तानको रुचि र क्षमतालाई ध्यानमा राखेर पढाइसँगै गायनमा लाग्न पनि सहयोग गर्दै आएको खुलाइन् । ‘डीएसए सिङगिङ स्टार’का आयोजक संस्था परिवर्तन इभेन्ट हाउसका निर्देशक राज बराइलीले प्रसुन सन् २०१९ का विजेता भए पनि कोभिडका कारण कार्यक्रम रोकिएकाले अहिले उक्त कार्यक्रमका लागि जान लागेको प्रस्ट्याए ।
प्रकाशित मिति : July 27, 2022 at 12:53 pm









