२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

अर्थतन्त्र नाजुक बन्यो हरेक नागरिकले खर्च नियन्त्रणमा जोड दिउँः राष्ट्रपति भण्डारी


१० साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र नाजुक बनेको भन्दै चिन्ता व्यक्त गरेकी छिन । मंगलबार राष्ट्रपति भवन शितल निवासमाका मुलधारमा सञ्चारमाध्यमका सम्पादक र प्रकाशकहरूसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले देशको बिग्रदो आर्थिक अवस्थाप्रति चिन्ता प्रकट गरेकी हुन ।

राष्ट्रपति भण्डारीले अहिले अर्थतन्त्रमा देखिएका चुनौतिलाई कम गर्न तत्काल दुई उपायहरू अवलम्बन गर्नुपर्ने बताएकी छिन ।उनले यसको पहिलो उपाय भनेको फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बन रहेको बताएकी छिन । राष्ट्रपतिले भनेकी छिन, ‘आर्थिक अनुशासनलाई हामीले अझ कठोरतापूर्वक पालना गर्नु आवश्यक छ । त्यसैले‚ मैले भन्दै आएको छु( अहिले सबैले मुठ्ठी कस्नुपर्ने समय छ । हरेक नागरिक‚ परिवारदेखि राज्यका निकायहरूलाई खर्च सकेसम्म नियन्त्रण गर्न मेरो आग्रह छ । आर्थिक अनुशासन र मितव्ययितालाई हामीले जीवन पद्धतिका रूपमा अवलम्बन गर्नु पर्दछ ।’

राष्ट्रपतिले दोस्रो उपायको रूपमा अर्थव्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालको लागि तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्ने गरी कामको सुरुवात गर्नुपर्ने बताएकी छिन । उनले भनेकी छिन, ‘मूलभूत रूपले कृषि, वन‚ पर्यटन र जलविद्युतलाई तुलनात्मक लाभको क्षेत्र मानिएकोबारे तपाईंहरू जानकार हुनुहुन्छ । हाल मुलुकले आयात गरिरहेको वार्षिक करिब चार खर्ब रुपैयाँ बराबरको सामग्री कृषि र वनसँग सम्बन्धित उत्पादन रहेको तथ्याङ्कले देखाउँछन् । हामीले आफैं उत्पादन गर्न सकिने धान चामल मात्रै करिब पचास अर्ब रुपैयाँ बराबरको आयात भइरहेको छ । सागसब्जी, दाल, मसला र गेडागुडी समेत उसैगरी आयात भएको देखिन्छ । फर्निचर, काठ र अन्य वन पैदावारको पनि त्यही अवस्था छ ।  कृषि उत्पादनबाट केही महिनामा नै लाभ प्राप्त गर्न सकिने हुनाले ठोस नीति र सकारात्मक हस्तक्षेपका माध्यमबाट उत्पादन बढाई व्यापार घाटा कम गर्ने पहलको सुरुवात यहाँबाट गर्न सकिन्छ भन्ने मलाई लाग्दछ ।’

राष्ट्रपति भण्डारीले अझै अघि भनिन्, ‘सत्र खर्ब रुपैयाँ वरिपरिको बजेट बनाउने हाम्रो मुलुकले करिब उन्नाइस खर्ब रुपैयाँको वार्षिक आयात गर्नु सानो चुनौती होइन । अहिले एकातिर परनिर्भर अर्थतन्त्रले मुलुकको आत्मविश्वासलाई कसरी कमजोर बनाउँछ भन्ने सम्बन्धमा जनतालाई अझै सुसूचित गर्नुपरेको छ भने‚ अर्कोतिर सरकारका तर्फबाट तत्काल सुधारका उपायहरू कडाईका साथ लागू गर्नु आवश्यक छ । केही सुरुवातहरू भएका छन्, जसलाई अझै बलियो पार्दै लैजानु पर्दछ ।’

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार २३:२४