२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

बङ्गलादेशमा पर्यटन प्रवर्द्धन गर्दै नेपालका फोटो पत्रकार

९ साउन, काठमाडाैँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजत महोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले आज बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ । समूहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाऊँ भनी सन्देश प्रवाह गर्नुभएको छ । उहाँहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घुमेर मनोरञ्जन लिन आह्वानसमेत गर्नुभएको थियो ।

‘अमेजिङ नेपाल’ नाम दिएर आज आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जनभन्दा बढी तस्वीरहरु प्रदर्शन गरिएको थियो । समूहका अध्यक्ष वन्तले समूह स्थापनाको २५ वर्ष पुगेको अबसरमा वार्षिक रुपमा विविध कार्यक्रम गरी मनाउने क्रममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

समूहले बङ्गलादेशको फोटो जर्नालिष्ट एसोसिएशनसँगको समन्वयमा उक्त कार्यक्रम गरेको हो । समारोहमा बङ्गलादेश फोटो जर्नालिष्ट एसोसिएशन ढाकाका अध्यक्ष सोहेल हैदर, सचिव अख्तर अहमद तथा संस्थापक सदस्य वरिष्ठ पत्रकार काजी रौनक हुसेन लगायतका पत्रकारहरुको सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष हैदरले नेपाल र बङ्गलादेशबीच दशकौँदेखि सम्बन्ध प्रगाढ रहेको र यस्ता कार्यक्रमले सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले दुवै देशमा यस्ता कार्यक्रम निरन्तर रुपमा हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालको राष्ट्रिय फोटो पत्रकार समूह र बङ्गदालेश फोटो जर्नालिष्ट एसोसिएशनबीच भाइचारा सम्बन्ध कायम रहेको र सामूहिक रुपमा विभिन्न कार्यक्रहरु आयोजना हुँदै आएको छ । समूहको रजत महोत्सवका अबसरमा समूहले वर्षभरि नै विभिन्न कार्यक्रम गर्ने अध्यक्ष वन्तले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार २२:१२