२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

बैतडीमा अव्यवस्थित विद्युत् खम्बाहरूबाट बढ्यो दुर्घटनाको जोखिम

९ साउन, बैतडी । बैतडीमा करिब ४५ प्रतिशत भू–भागमा विद्युतसेवा विस्तार भएको छ । बाँकी क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ । विद्युत् विस्तार भएका अधिकांश ठाउँमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुगेको हो ।

विद्युत् पुगे पनि विद्युत् पुर्याउने कार्य परिपक्क नहुँदा धेरै ठाउँमा दुर्घटनाको जोखिम बढेको छ । विद्युत् विस्तारका बखत ठेकेदारले पोलहरू राम्रोसँग नगाड्ने तथा तारहरू परिपक्क तवरले नतान्ने गरेका कारण यो समस्या देखिएको हो ।

विद्युत् विस्तारमा ठेकेदारले ठुलो लापरबाही गरेकाले दुर्घटनाको जोखिम बढेको मेलौली नगरपालिका–७ का केशवसिंह भाटले बताए । उनले भने, ‘विद्युतका खम्बाहरू ५फिट बढी गाड्नुपर्नेमा सडक खनेको माटोमा दुई फिट मात्रै गाडेको छ । न सपोट तार परिपक्क तवरले हालेको छ, नत तारको जडान परिपक्क छ । जसले गर्दा ठाउँठाउँमा खम्बाहरू ढलेकाछन् र तारहरू लथालिंग छन् ।’

मेलौलीमा मात्रै नभई सिगासका लागि लगिएको लाइन पनि जाखिमपूर्ण छ । सडक छेउमा गाडिएका अधिकांश खम्बाहरू ढलेका छन् । आधा ढलेका खम्बाहरूबाटै विद्युत् प्रशारण भइरहेको छ । खोड्पे–बिन्द्रावन सडकमामा करिव एक दर्जन खम्बाहरू आधा ढलेर बांगो भएका छन् भने सपोट तारहरू टुटिसकेकाले दुर्घटनाको जोखिम बढेको छ ।

मेलौली–पञ्चेश्वर लाइन विस्तारका लागि दुई वर्षअघि बझाङका ठेकेदार भानुभक्त जोशीको ठेक्का भएको थियो । उक्त ठेक्काको म्याद थप गर्दा पनि ठेकेदाले काम सम्पन्न नगर्दा विद्युत् सामग्रीसमेत सडक किनारमै अलपत्र छन् भने केही सामग्री हराइसकेका छन् ।

मेलौली–पञ्चेश्वर विद्युत् विस्तार गर्ने ठेकेदारले काम राम्रो नगरेकाले विद्युत् प्राधिकरण प्रदेश कार्यालयले पुनः ठेक्का आह्वान गरेको शाखा कार्यालय बैतडीका प्रमुख पवन भट्टले बताए ।

जिल्लाका अन्य ठाउँहरूमा विद्युत् सेवा अवरुद्ध भएको जानकारी पाएमा आफुहरूले बनाउने गरेको उनले बताए । ठेकेदारले विद्युत् विस्तारमा लापरबाही गरेमा कारबाही गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १३:१४