८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

ओझेलमा मालिकाबोताका धार्मिक तथा पर्यटकीय स्थल (फाेटाेफिचर)

६ साउन, जुम्ला । हेर्दा अत्यन्तै रमणीय छ कनका सुन्दरीगाउँपालिका-२ मा रहेको मालिका बोतागाउँको नौमुले तिर्थस्थल । गाउँको शीरमा रहेको पर्यटकीय क्षेत्र प्रचारप्रसार तथा पूर्वाधार विकास अभावमा भने ओझेलमा छ । नौ वटा धारा ‘नौमुले’ नामले समेत परिचित तीर्थस्थल कनका सुन्दरीगाउँपालिका-२ मा रहेको रोथ भन्ने स्थानमा छ ।

पूर्व वडाध्यक्ष शेरबहादुर रावतले पछिल्लो समयमा स्थानीयस्तरमा यसको संरक्षणमा केही काम भए पनि पर्याप्त नभएकाे बताए । उनले वडा अध्यक्ष हुँदा केही भवन र धारा व्यवस्थित बनाएकाे बताए । उनले भने, ‘प्रकृतिको अपार सुन्दरताले भरीपूर्ण रोथ चौर र नौमुले तीर्थस्थल पुग्ने जो कोही यहाँकाे सुन्दरतामा रुमलिन पुग्छ। नौमुलेका नौ धारा, रोथचौरमा बग्दै गरेको पानीले पर्यटकलाई लाेभ्याउँछ नै ।’ वर्षायाममा यसको पानीको बहाव बढ्दै जाँदा यो क्षेत्रलाई नदीले घेरेको सुन्दर दृश्य देखिन्छ ।

मालिकाबोताका ७० वर्षीय आकासी रावत नाैमुले यस क्षेत्रकै तीर्थस्थल भएकाे बताउँछन् । उनी भन्छन्, ‘यो मन्दिरको नाम पहिले रुपाभवानी थियाे । माथीपट्टी रोथचौर थियो त्यस कारण रुपाभवानी नाम राखिएको हाे । अहिले त्यो मन्दिरको नाम परिमार्जन गरेर नौमुले तीर्थस्थल राखिएको छ ।’

उनका अनुसर त्यो नौमुले तिर्थस्थलमा रक्सी छुटाउन, भाकल गर्न जाने गरेकाे उनी बताउँछन् । स्थानीय सुरबहादुर रावतले यहाँ मन्दिर मात्रै नभएर अरू पर्यटकीय स्थल पनि रहेकाे बताए ।उनले भने, ‘यहाँका गुफामा कसैको ध्यान गएको छैन । मालिकाबोतागाउँको आसपासमा रहेको गुफा र धार्मिक तथा पर्यटकीयस्थलको विकासमा सम्बन्धित निकायले बेलैमा ध्यान दिए यो क्षेत्र साँच्चिकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बन्ने थियाे ।’

पर्यटकीय क्षेत्रकाे रुपमा विकास भए सयौंको संख्यामा पर्यटकको आवागमन हुने अपेक्षा वडाध्यक्ष खम्मा रावतकाे छ । उनले भने, ‘उचित प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा यहाँका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वका स्थल ओझेलमा परेका छन् ।’ उनका अनुसार नौमुलेमा माता तीर्थ औंसी, कुशे औंसी, पुसे औंसी, बालाचतुर्दशी, शिवरात्री लगायतमा पुजापठ हुने गर्छ ।

प्रकाशित मिति : July 23, 2022 at 6:31 pm