२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्राध्यापकहरूले तथ्य र तर्कको आधारमा विश्लेषण गर्नुपर्छः उपाध्यक्ष नेम्वाङ

१ साउन, धरान । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले प्राध्यापकहरुलाई राजनीतिक परिघटना र सवालहरुलाई तथ्य र तर्कको आधारमा विश्लेषण गर्न आग्रह गरेका छन । नेपाल प्रगतिशील प्राध्यापक संगठन प्रदेश नम्बर १ को धरानमा आयोजित दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै उपाध्यक्ष नेम्वाङले प्राध्यापकहरूले तथ्य र तर्कको आधारमा विश्लेषण गरेमात्र जनताले यथार्थ बुझ्न पाउने बताए ।

उनले केही राजनीतिक दलका नेताहरुले देशमा घटेका राजनीतिक घटना र सवालहरुमा आग्रहपूर्ण तरिकाले धारणाहरु सम्पेषण गर्दा जनमानसमा भ्रम पर्न गएको बताउँदै प्राध्यापकहरुबाट अनुसन्धानको आधारमा त्यसको सही र तर्कसंगत विश्लेषण गर्नेपर्ने बताए ।

विगतमा माओवादी केन्द्रका पूर्व नेता एवं तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा र शेरबहादुर देउवाले ततकालीन प्रतिनिधिसभा विघटन गरेको प्रसंग कोट्याउँदै उपाध्यक्ष नेम्वाङले उहाँहरुले गर्दा प्रतिगमन नहुने ततकालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जानखोज्दा प्रतिगमन भयो भन्ने यस्ता सवालमा प्राध्यापकहरुले तर्कसंगत रुपमा विश्लेषणात्मक धारणा दिनुपर्ने बताए ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन प्रदेश–१ समितिका अध्यक्ष पितकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमालेका स्थायी समितिका सदस्य एवं प्रदेश नं.१ का इन्चार्ज देवराज घिमिरे, स्थायी समिति सदस्य गुरु बराल, प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. वेदराज के.सी., महासचिव डा. पदमप्रसाद खतिवडा, नेकपा एमाले मोरङ जिल्ला कमिटीका अध्यक्ष ऋषि पोखरेलले नेपालको उच्च शिक्षा र प्राध्यापकहरुको भूमिकाका विषयमा आआफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको पहिलो सत्रमा नेपालको अर्थतन्त्रको वर्तमान समस्या र शिक्षा क्षेत्रको सवालमा विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको अर्थतन्त्रको चुनौती र समाधानको विषयमा डा. अर्जुन बरालले कार्यपत्र प्रस्तुत गरेका थिए भने शिक्षा र प्रविधिको विषयमा आनन्द नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनले डा. गोपीकृष्ण खतिवडाको अध्यक्षतामा ३१ सदस्यीय नेपाल प्रगतिशील प्राध्यापक संगठन प्रदेश समिति गठन गरेको छ । नवगठित प्रदेश समितिमा उपाध्यक्ष शुकदल लिम्बु, सचिवमा रबीन्द्र बराल, सहचिवमा कुमार सुवेदी र कोषध्यक्षमा माधव रेग्मी चयन भएका छन ।

यसैगरी सदस्यहरुमा क्रमशः छत्रमणि गुरागाई, कविता अधिकारी, मीना आचार्य, डा. सुजितकुमार शाह, सावित्रा सुवेदी, गोपीकृष्ण भट्टराई, राजकुमार दाहाल, प्रेमबहादुर कार्की, हिम सुवेदी, वेदप्रकाश कन्दङवा, डा. यज्ञप्रसाद गुरागाई, किरण धिमिरे, बाबुराम ओझा, अनन्त साँवा, इन्द्रबहादुर बस्नेत रहेका छ ।

त्यस्तै खेमराज कार्की, ऋषिराज धिमाल, कमल प्रसाद न्यौपाने, टीकाप्रसाद उपाध्याय, मदनकुमार खत्री, डम्बरबहादुर खडका, प्रविण सङग्रौला, गिरिराज खतिवडा, सुवोध खनाल, उमेश पाण्डे र बद्रीप्रसाद ढुंगेल पनि सदस्यमा चयन भएका छन ।

नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यहरुलाई केन्द्रीय सचिव देवराज अर्याल, किशोरकुमार शाह र मानबहादुर जोराले शुभकामना र बधाई ज्ञापन गरेका थिए । सम्मेलनको सञ्चालन संगठनका केन्द्रीय सचिव होमबहादुर बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार २०:२३