९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

निर्मलालाई अपांगता बिर्साउने कक्षाकोठा

१४ असार, महोत्तरी । कक्षाकोठामा पसेर अध्यापन गराउन थालेपछि निर्मला पुलामीलाई आफू शरीरिक रूपमा अपाङ्ग छु भन्ने सम्झना नै हुँदैन । साना बालबालिकाको व्यवहार, नयाँ कुरा सिक्ने जिज्ञाशा र चटपटे स्वभावले उनी कक्षा सकिएको चालै पाउँदिनन् । बर्दिबास कालापानीस्थित सरस्वती माध्यामिक विद्यालयमा पढाउन थालेको १३ वर्ष बितिसक्दा पनि उनलाई कहिल्यै पनि झर्को लागेन ।

कक्षा ५ सम्म अध्यापन गराउने पुलामीको दिनचर्या यहीबाट सुरु हुन्छ । विद्यालयको गेटमा श्रीमानले छाडेपछि उनलाई लिन गेटसम्मै विद्यार्थीहरू आइपुग्छन् । विद्यालय छुट्टी भएपछि पनि श्रीमान गेटमै आइ पुग्छन् । प्रावि तहमा राहत कोटामा पुलामीले पढाउन थालेको १३ बर्ष भयो ।

शारीरिक रुपमा अपाङ्ग भए पनि पनि उनले व्यवहारमा अपांगता भएको कहिल्यै अनुभव गर्नु परेन । यही कारण उनी भन्छिन्, ‘जीवन सुन्दर छ । दुवै खुट्टा नचले पनि आफूभित्रको उर्जा र शक्ति कहिल्यै क्षिण हुन दिइन् ।’

जुन विद्यालयमा पढिन त्यही पढाउने अवसर

०५८ सालमा यही विद्यालयबाट एसएलसी दिएकी पुलामीले जनता माध्यामिक विद्ययालयबाट १२ कक्षासम्म अध्यन गरिन् । उनी कक्षा ५ मा पढ्दासम्म सपाङ्गनै थिइन । ‘पाँच कक्षा पढ्दै गर्दा खुट्टामा सानो चोट लाग्यो । त्यही चोटका कारण बढेको घाउको पछि वीर अस्पतालमा अपरेसन गर्नु पर्याे ।’ पुलामीले उक्त दिन सम्झिइन् ‘अपरेसन गरेर फर्किएपछि टाँका खोल्न नजान्दा अपाङ्ग बन्नु पर्याे ।’

अरुको जस्तो हिँडडुल गर्न नसके पनि पुलामीलाई जिन्दगीप्रति कुनै गुनासो छैन । ‘सपाङ्गहरूको जति नै काम गर्न पाएको छु । सपाङ्ग हुन पाएको भए भन्ने किन लाग्थ्यो र ?’ उनले भनिन् ।

पुलामीले १३ बर्षअघि शिशु कक्षामा पढाएका विद्यार्थी अहिले स्नातक तहमा अध्ययन गर्दैछन् । ‘यसैले पनि खुसी दिन्छ । मलाई जीवन वास्तवमै सुन्दर लाग्छ ।’ उनी भन्छिन् ।
पुलामीले गाउँकै युवकसँग चार बर्षअघि विवाह पनि गरिन । अहिले एउटा छोरी छिन । छोरी पनि यही विद्यालयमा पढ्छिन् । पुलामी गाउँकै छोरीचेली भए पनि अहिले कुशल शिक्षकको रुपमा समेत पहिचान बनाएकी छिन् ।

पुलामीलाई विद्यालय प्रशासन र व्यवस्थापन समितिको पनि उत्तिकै सहयोग छ । राहत कोटामा अध्यापन गराउन आएका कयांै शिक्षक, सिक्षिका परिवर्तन भए तर पुलामी १३ बर्षदेखि यही छिन् ।

शरीरिक रूपमा अपाङ्ग भए पनि आफुभित्र साहस र जीवनलाई सहज बनाउने आत्मविश्वास छ भने सफलता आफैभित्र हुने उनको भनाइ छ । पाँच कक्षा पढ्दापढ्दै अपाङ्ग बनेकी पुलामीले पढ्नकै लागि अनेकौं संघर्ष गरेकी छिन् । विद्यालय आउन होस् वा कलेज पढ्दा होस् पुलामीसँग अनेकांै नमिठा सम्झना छन् ।

प्रकाशित मिति : June 28, 2022 at 3:47 pm