१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

क्यानडा प्रस्थान गर्ने क्रिकेट टोलीको बिदाइ

१३ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको बिदाई गरेको छ । स्कटल्यान्डमा हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको तयारी गर्न नेपाली टिम भोलि (मंगलबार) क्यानडा जाँदैछ ।

भोलि क्यानडा प्रस्थान गर्ने नेपाली टिमलाई सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरे । यस्तै, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल लगायतले विदाई गरे । क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरिसकेको छ ।

नेपालले लिग २ अन्तर्गत १७ असारदेखि स्कटल्यान्डमै घरेलु टिमसहित नामिबियासम्मिलित त्रिदेशीय शृंखला खेल्नेछ । स्कटल्यान्ड भ्रमणअघि ४ जुलाई र ५ जुलाई ५ मा क्यानडाविरुद्ध दुई एकदिवसीय क्रिकेट खेल्ने तालिका छ ।

त्यसपछि नेपाली टिम स्कटल्यान्ड पुग्नेछ । लिग तालिकाको पाँचौ स्थानमा रहेको नेपालले १६ खेलबाट सात जित, आठ हार र एक ‘टाइ’ सहित १५ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २० खेलबाट २८ अंक जोड्दा छैटौं स्थानमा रहेको नामिबियाले १४ खेलबाट १४ अंक जोडेको छ । आइसिसी विश्वकप क्रिकेट लिगमा अब नेपालले २० खेल खेल्न बाँकी छ ।

नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, आशिफ सेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमेद, किशोर महतो, पवन सर्राफ, विनोद भण्डारी

प्रकाशित मिति : June 27, 2022 at 6:24 pm